ललितपुरको इट्टाभट्टामा दुर्घटना : एक जनाको मृत्यु, चार घाइते


ललितपुर। 

ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धीस्थित होसना ईटाँभट्टामा भित्ता भत्किँदा आइतबार एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

ईंटाभट्टामा काम गर्ने क्रममा एक्कासि त्यहाँको भित्ता भत्किँदा घाईत भएका तिल्सरी खड्काको मृत्यु भएको हो। रुकुम घर भई हाल सोही ईट्टाभट्टामा कार्यरत खड्का ५५ वर्षका थिए।

दुर्घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीसहितको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूलाई तत्काल उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो।

घाइते मध्ये रुकुमका २७ वर्षीया जानकी चन्दको अवस्था गम्भीर रहेको छ। उनको दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको बताइएको छ। उनलाई थप उपचारका लागि मोडल अस्पतालमा लगिएको छ।

त्यसैगरी सल्यानका २७ वर्षीया शान्ति कुँवर, रोल्पाका ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका थिए। उनीहरुको दुवै खुट्टा तथा हातमा चोट लागेको थियो।यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।