कतारमा सैन्य हेलिकप्टर दुर्घटना: ६ जनाको मृत्यु, एक बेपत्ता


काठमाडौँ।

मध्यपूर्वमा जारी तनावबीच कतारको सैन्य हेलिकप्टर देशको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि कतारको रक्षा मन्त्रालयले गरेको छ।

मन्त्रालयका अनुसार आइतबार बिहान नियमित कर्तव्यमा रहेको हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको हो।

दुर्घटनापछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानमा हेलिकप्टरमा सवार ७ जनामध्ये ६ जनाको शव फेला परेको जनाइएको छ।

यस्तै, कतारी सशस्त्र बलअन्तर्गतका पाइलट क्याप्टेन सईद नासेर समेख अझै बेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

पछिल्ला हप्ताहरूमा कतार क्षेत्रीय तनावबाट प्रभावित हुँदै आएको छ। गत हप्ता इरानले कतारको मुख्य ग्यास प्लान्टलाई निशाना बनाएको दाबी गरिएको थियो।

यद्यपि, उक्त हेलिकप्टर दुर्घटनाको हालको क्षेत्रीय तनाव वा इरानसँगको घटनाक्रमसँग प्रत्यक्ष सम्बन्ध रहेको वा नरहेकोबारे स्पष्ट भइसकेको छैन।