कालोपुल डेरा चोरी प्रकरण : २४ घण्टाभित्रै दुई जना पक्राउ, सुन र नगद बरामद


काठमाडौं।

काठमाडौं महानगरपालिका–५ कालोपुल लामा गल्लीस्थित एक डेरामा भएको चोरी प्रकरणमा प्रहरीले २४ घण्टाभित्रै दुई जनालाई पक्राउ गरेको छ।

डेरा कोठाभित्र काठको दराजमा राखिएको अन्दाजी २६ तोला ८ आना सुनका गरगहना, करिब ३३ हजार रुपैयाँ बराबरका चाँदीका सामग्री, भारतीय रुपैयाँ १० हजार र नेपाली रुपैयाँ ४५ हजार चोरी भएको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले ७ चैत राति करिब ९:५० बजे दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–२ का २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२ का २६ वर्षीय निरज सापकोटा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने तिलहरी ३ थान, सिक्री १, नेक्लेस १, बाला ३, झुम्का १ जोर, नौगेडीका गोटी ८, जन्तर १, स–साना टुक्रा २५, फुली १, चाँदीजस्तो देखिने बाला २, सानो थाली १, पाउजु १ जोर, औँठी २, धातुको चुरा २, खुकुरी १, फलामको रड २, तरबार १ तथा नगद रु.२ लाख ४९ हजार बरामद गरेको जनाएको छ।

चोरीमा प्रयोग गरिएको होण्डा कम्पनीको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद सामग्रीको परीक्षण र घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।