काठमाडौँ।
मध्यपूर्वमा इरानसँग अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीको प्रभाव विश्वभर देखिन थालेको छ। इन्धन र खाना पकाउने ग्याँसको आपूर्ति प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्न थालेको छ।
यही सन्दर्भमा भारतको उत्तर प्रदेश राज्यस्थित बाराबंकी जिल्लामा गम्भीर सामाजिक घटना सार्वजनिक भएको छ। ग्याँस अभावका कारण भएको पारिवारिक विवादपछि एक महिला आफ्नो पाँच महिनाको शिशुसहित बेपत्ता भएकी छन्।
प्राप्त जानकारीअनुसार बाराबंकीको बौधनी मजरे खटौली गाउँ निवासी अनिलकुमारकी पत्नी सुमन देवी घर छाडेर हिँडेकी हुन्। करिब दुई वर्षअघि विवाह गरेका दम्पतीका पाँच महिनाका छोरा छन्।
अनिल एक निजी कम्पनीमा कार्यरत छन्। केही दिनअघि घरमा खाना पकाउने ग्याँस सकिएपछि समस्या सुरु भएको बताइएको छ। रातको ड्युटी सकेर बिहान घर फर्किएका अनिलले खाना नबनेको देखेपछि पत्नीसँग सोधपुछ गरेका थिए। सुमनले ग्याँस नभएकाले खाना पकाउन नसकेको बताएकी थिइन्।
तर अनिलले दाउरा बालेर भए पनि खाना पकाउन सकिन्थ्यो भन्दै असन्तुष्टि जनाएपछि दम्पतीबीच विवाद चर्किएको थियो। विवादपछि अनिल कोठामा सुत्न गएका थिए।
अपराह्न करिब ४ बजेतिर उठ्दा घरमा पत्नी र शिशु दुवै नभएको उनले बताए। छिमेकी र आफन्तकहाँ खोजी गर्दा पनि कुनै पत्ता नलागेपछि उनले प्रहरीमा निवेदन दिएका छन्।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै खोजी कार्य तीव्र पारेको जनाएको छ। अहिलेसम्म महिला र शिशुको अवस्था अज्ञात रहेको छ।
विश्व संकटको असर घरसम्म
विशेषज्ञहरूका अनुसार इरान–अमेरिका–इजरायल तनावका कारण तेल र ग्याँस आपूर्ति श्रृंखला प्रभावित हुँदा दक्षिण एशियामा समेत दैनिक जीवनमा असर देखिन थालेको छ। ग्याँस अभावले सिर्जित यो घटना त्यसकै एक प्रतिनिधि उदाहरणका रूपमा हेरिएको छ।
स्थानीय प्रशासनले नागरिकलाई संयमता अपनाउन र अफवाहमा नलाग्न आग्रह गरेको छ भने घटनाको थप अनुसन्धान जारी रहेको छ।











प्रतिक्रिया