डोटी।
भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् ।
ग्यास अभावका कारण आफूले काम गर्ने होटल बन्द हुने अवस्थामा पुगेपछि अहिले घर फर्किएको डोटीका रोशन खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खाने र बस्ने सुविधा होटलमा थियो, ग्यास अभावले होटल बन्द गर्ने तयारी भयो, बेरोजगार हुने अवस्था आएपछि घर फर्किएँ ।”
एकातिर ग्यास अभावले पूरै समय होटल नचल्ने गरेको र अर्कातिर ‘बिसु’ पर्व पनि नजिकिँदा यस वर्ष छिटो घर फर्किनुपरेको डोटीका अर्का स्थानीय विजय विकले बताउनुभयो । उहाँले भन्नुभयो, “बिसु पर्व पनि आइरहेको छ, चैत अन्तिमतिर घर फर्किने सोच थियो । ग्यास अभावमा होटेल बन्द हुने अवस्थामा पुगेकाले घर फर्किए ।”
सुदूरपश्चिम प्रदेशमा बिसु पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा मनाइन्छ । खाना पकाउने ग्यासको अभावले होटलमा मजदुरी गर्ने नेपाली सबैभन्दा बढी प्रभावित भइरहेका भारतबाट आएकाहरु बताउँछन् ।
भारतको पुनामा रहेका डोटीका महेश भट्टले ग्यास अभावले रोजगारीका लागि भारत गएका नेपालीहरू समस्यामा परेका गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “खासगरी होटल व्यवसायमा रोजगारी गरिरहेका अधिकांश नेपाली बेरोजगार हुने अवस्था छ । होटल व्यवसायका साथै अन्य क्षेत्रमा मजदुरी गर्ने नेपाली बढी प्रभावित हुने गरेका छन् ।” पश्चिम एसिया क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएपछि भारतमा इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरिएको त्यहाँबाट फर्किएका नेपालीको भनाइ छ । भारतमा ठूलो संख्याका नेपाली विभिन्न क्षेत्रमा रोजगारी गर्दै आएका छन् । सुदूरपश्चिमेलीको रोजगारीका लागि पहिलो गन्तव्य भारत हो ।











प्रतिक्रिया