इरानद्वारा इजरायलमा पुनः क्षेप्यास्त्र प्रहार, १०० बढी घाइते


काठमाडौँ।

इरानले इजरायलतर्फ पुनः क्षेप्यास्त्र प्रहार गरेको दाबी इजरायली रक्षा बल (IDF) ले गरेको छ।

IDF का अनुसार केही समयअघि इरानबाट प्रक्षेपित क्षेप्यास्त्रहरूलाई नियन्त्रणमा लिन इजरायली रक्षा प्रणाली सक्रिय रूपमा परिचालन गरिएको छ। साथै, प्रभावित क्षेत्रका सर्वसाधारणलाई मोबाइल सन्देशमार्फत सुरक्षा सतर्कता जारी गरिएको जनाइएको छ।

“रक्षा प्रणालीहरूले खतरालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ,” IDF ले सामाजिक सञ्जालमार्फत जनाएको छ।

IDF ले नागरिकलाई सतर्कता अपनाउन र आधिकारिक निर्देशनहरूको पालना गर्न आग्रह गर्दै चेतावनी नहटेसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।

यसैबीच, शनिबार दक्षिणी इजरायलका डिमोना र अराद क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

मृत सागर नजिकै रहेको अराद शहरमा मात्रै ८८ जना घाइते भएको बताइएको छ। साथै, डिमोना क्षेत्रमा रहेको आणविक ऊर्जा केन्द्र नजिक पनि आक्रमणका कारण क्षति पुगेको जनाइएको छ। -बीबीसी