अविरल वर्षाले पीएम कप उद्घाटन खेल प्रभावित, टोलीलाई अंक बाँडियो


काठमाडौँ ।

अविरल वर्षाका कारण प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उद्घाटन खेलहरू प्रभावित भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत जनकपुरमा हुने कोशी र मधेश प्रदेशबीचको खेल सुरु हुन सकेन भने वीरगञ्जमा कर्णाली र लुम्बिनीबीचको खेल वर्षाका कारण बीचमै रोकिएको थियो।

लुम्बिनीले ७ ओभरमा २० रन बनाएको अवस्थामा पानी परेपछि खेल स्थगित गरिएको हो। खेल प्रभावित भएपछि सबै टोलीहरूले १/१ अंक बाँडेका छन्।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली—नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी—सहित कुल १० टोली सहभागी छन्। खेलहरू काठमाडौंको मुलपानी क्रिकेट मैदानसहित वीरगञ्ज र जनकपुरमा सञ्चालन हुनेछन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ।