काठमाडौं ।
लगातारको भारी हिमपातका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र रुकुम पूर्वको सिमाना पातिहाल्ने क्षेत्रमा फसेका २२० भन्दा बढी यात्रुको उद्धार गरिएको छ।
शुक्रबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।
सडकमा जमेको हिउँ पन्छाउन डोजर प्रयोग गरी मार्ग खुलाइएपछि क्रमशः सवारीसाधनहरू सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको र सबै यात्रुलाई सुरक्षित स्थानमा सारिएको रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जीपमा सवार यात्रुहरू समस्यामा परेका थिए। उद्धारपछि हाल सो क्षेत्रको अवस्था सामान्य बन्दै गएको र सवारी आवागमन पनि क्रमशः सुचारु भइरहेको प्रशासनले जनाएको छ।
प्रशासनले उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।











प्रतिक्रिया