बैतडी । चैत महिना शुरु भएसँंगै बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलो शुरु भएको छ । बैतडी, दार्चुलालगायतका जिल्लाहरुमा चैतको महिनामा माइती पक्षले छोरी–बहिनीहरुलाई भेट्ने चलन रही आएको र यसैलाई भिटौलो भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । पहाडबाट तराईंमा बसाइँ सरेकाहरुले भिटौलो मनाउँदै आएका छन् ।
मीठो–मसिनो पकाएर छोरी–बहिनीहरुलाई उनीहरुकै घरमा गई प्रत्येक वर्ष चैतमा भेट्ने चलन रही आएको दार्चुलाका गंगासागर जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चैतको महिना दीदी–बहिनीलाई भेट्ने हाम्रो परम्परागत चलन हो । मीठो–मसिनो पकाएर दिदी–बहिनीको घरमा जाने र सुख–दुःख बाँड्ने चलन रहेको छ ।’
चैत महिनामा दिदी–बहिनीहरुलाई नभेट्दा अपसकुन हुन्छ भन्ने मान्यतासमेत रही आएको जोशीले बताउनुभयो ।
चैत महिनामा भेटघाट गर्ने र छोरी–बहिनीहरुको दुःख–सुखका बारेमा कुराकानी हुने गरेको छ । माइतीबाट दाजु–भाइ कहिले भेट्न आउलान् भनेर दिदी–बहिनीहरुले पनि बाटो कुर्ने गरेका छन् । आफ्ना दाजु–भाइ नहुनेका लागि वल्लो–पल्लो घरका दाजु–भाइसमेत गएर भेटघाट गर्ने चलन छ । छोरी–बहिनीहरुप्रतिको माया, ममता बढाउन र माइती पक्षको सम्झना मेटाउनका लागि भिटौलाको चलन चलेको पण्डित देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माइतीघरबाट पराई घरमा रहेकी छोरी–बहिनीहरुप्रति आत्मीयता दर्शाउन भिटौलाको चलन चलेको हो ।’
पहिला भिटौला जाँदा घरमै उपलब्ध चीजवस्तुहरु लिएर जाने चलन थियो तर पछिल्लो समयमा बजारका सामग्रीहरु किन्ने चलन पनि बढेको छ । भिटौलाका कारण चैत महिनामा बजारहरुमा पनि चहलपहल बढ्ने गरेको व्यापारीहरुले बताएका छन् ।
माइतीले चैतको महिना छोरी–बहिनीहरुलाई भेट्ने चलन परापूर्वकालदेखि चलिआएको स्थानीय संंस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दाजु–भाइ र दिदी–बहिनीबीचको आत्मीय सम्बन्धको एक कडी हो भिटौलो पर्व ।’ वसन्त ऋतुको आगमनसँगै छोरी–बहिनीहरुको नियास्रो मेटाउन भिटौलाको चलन चलेकोले यो चलनलाई सकारात्मकरुपमा लिनुपर्छ ।











प्रतिक्रिया