रास्वपाको बाचापत्र : जनअपेक्षासँगै चुनौती

658
Shares

मुगु । गत फागुन २१ को निर्वाचनमा रास्वपा १२५ सिट, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति ३, राप्रपा १ र स्वतन्त्र उम्मेदवार १ गरी प्रत्यक्षतर्फ १६५ निर्वाचन भई सिट निर्धारण भएको छ । त्यस्तै समनुपातिकतर्फ रास्वपाले ५७ सिट प्राप्त गरी कुल १८२ सांसद पाएपछि झन्डै दुई तिहाइको नजिक रास्वपा पुगेको छ ।

नेपाली राजनीतिमा परम्परागत शक्तिहरूको विकल्प खोजिरहेका आम नागरिकका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एउटा ताजा लहर बनेर आयो । नयाँले केही गर्छन् कि भन्ने हुटहुटी र पुराना दलहरूप्रतिको वितृष्णाले गर्दा छोटो समयमै रास्वपाले जुन जनमत प्राप्त ग¥यो, त्यो लोभ लाग्दो मात्र होइन, चुनौतीपूर्ण पनि छ । आज गाउँका चौतारीदेखि शहरका चियापसलसम्म एउटै बहस छ– के रास्वपाले आफ्नो बाचापत्रमा उल्लेख गरेका बुँदाहरू पूरा गर्ला ? कि यो पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैँ हुने हो ?

निर्वाचनका बेला रास्वपाले प्रस्तुत गरेको बाचापत्र कुनै दार्शनिक दस्तावेज मात्र थिएन, बरु आम सर्वसाधारणले भोगिरहेका दैनिक समस्याको समाधानको सूची थियो । शिक्षामा सुधार, स्वास्थ्य सेवामा सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनका कुराहरूले जनतालाई छोएको थियो । विशेष गरी दुई तिहाइको निकट पुगेको वर्तमान शक्ति सन्तुलनमा रास्वपाको भूमिका निर्णायक देखिन्छ । जनताले यो पार्टीलाई केवल विरोधका लागि मात्र होइन, नतिजाका लागि मत दिएका हुन् ।

अहिले सर्वसाधारणमा एउटा गम्भीर चासो छ– यदि बाचापत्रका प्रतिबद्धताहरू कार्यान्वयन भएमा रास्वपाप्रति जनताको विश्वास पहाडजस्तै अटल हुनेछ । यसले नेपालमा ‘डेलिभरी’ को राजनीति शुरु भएको सन्देश दिनेछ । तर यदि यी बाचाहरू कागजमै सीमित रहे भने, त्यसले निराशाको ठूलो खाडल मात्र खन्दैन, बरु पुराना राजनीतिक शक्तिहरूलाई पुनः सलबलाउने र शक्ति आर्जन गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।

रास्वपाको मुख्य जग नै भ्रष्टाचारविरोधी अभियान हो । विगतमा ठूला भनिएका दलहरू विभिन्न काण्डमा मुछिएका बेला, रास्वपाले ‘क्लिन’ छविको दाबी गर्दै आएको छ । बाचापत्रमा लेखिएअनुसार फाइलहरू खुल्ने र दोषीले सजाय पाउने प्रक्रिया अघि बढेमा मात्र जनताले पत्याउनेछन् । तर राजनीतिक भागवण्डाको दलदलमा फसेर यदि रास्वपाले पनि पुराना दलकै शैली पछ्यायो भने पतनको शुरुवात पनि त्यही विन्दुबाट हुने निश्चित छ ।

जनताले हेरिरहेका छन्– के सरकारी कार्यालयमा हुने ढिलासुस्ती कम भयो ? के सेवाग्राहीले विनाघुस काम गर्न सक्ने वातावरण बन्यो ? यदि यी साना लाग्ने तर आधारभूत कुरामा परिवर्तन आएन भने ‘नयाँ बोतलमा पुरानो रक्सी’ भन्ने भाष्य स्थापित हुनेछ ।

नेपालका पुराना र स्थापित भनिएका दलहरू अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन् । उनीहरू रास्वपाको सानो गल्तीलाई कुरेर बसेका छन् । यदि रास्वपाले आफ्नो बाचापत्रअनुसार काम गर्न सकेन भने, पुराना दलहरूले ‘हेर्नुस्, नयाँले पनि केही गर्न सक्दैनन्, देश चलाउन अनुभव नै चाहिन्छ’ भन्ने नाराका साथ पुनः जनताको बीचमा जाने मौका पाउनेछन् ।

यो अवस्था लोकतन्त्रका लागि सुखद नहुन सक्छ । किनकि, नयाँ शक्ति असफल हुनु भनेको वैकल्पिक राजनीतिको अवधारणा नै कमजोर हुनु हो । यसले आम मानिसमा ‘यो देशमा कोही आए पनि केही हुनेवाला छैन’ भन्ने चरम निराशा पैदा गर्नेछ, जुन राष्ट्रका लागि घातक हुन्छ ।

रास्वपाका अगाडि चुनौतीहरू कम छैनन् । अनुभवी कर्मचारीतन्त्रसँगको समन्वय, कानुनी जटिलता र आन्तरिक व्यवस्थापन यसका मुख्य तगारो हुन् । बाचापत्रमा लेख्न सजिलो छ, तर त्यसलाई नीतिगतरूपमा कार्यान्वयन गर्न ठूलो कसरत चाहिन्छ ।

लोकप्रियताभन्दा माथि उठेर ठोस नतिजा दिन सक्नुपर्छ । रास्वपाले बुझ्नुपर्छ– बाचापत्रका बुँदाहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी कार्यान्वयन शुरु गर्ने, मन्त्रालय र सरकारमा रहँदा केवल प्रचारमा मात्र नरमाई दीर्घकालीन नीति निर्माणमा ध्यान दिने, जनतासँगको संवादलाई निरन्तरता दिने, ताकि उनीहरूले भइरहेका प्रयासबारे जानकारी पाऊन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका लागि अहिलेको समय अग्निपरीक्षाको घडी हो । यदि उसले आफ्नो बाचापत्रमा उल्लेख गरेका कुराहरूलाई व्यवहारमा उतार्न सक्यो भने नेपालको राजनीतिमा नयाँ युगको शुरुवात हुनेछ । यसले पुराना दलहरूलाई पनि सुधार्न बाध्य पार्नेछ ।

तर यदि यो मौका गुमाइयो र बाचापत्र केवल निर्वाचन जित्ने कार्ड मात्र साबित भयो भने, यसले पुराना शक्तिहरूलाई फेरि बलियो बनाउनेछ र देश पुनः उही अस्थिरता एवं बेथितिको चक्रमा फस्नेछ । सर्वसाधारणको चासो र चिन्ता जायज छ । चासोको विषय यो छ कि रास्वपाले जनताको विश्वासको कदर गर्छ कि सत्ताको खेलमा हराउँछ ? आम नेपाली नागरिकको लागि पर्ख र हेरको समय आएको छ ।