काठमाडौं ।
निर्वाचनअघि आन्तरिक भेटघाटमा व्यस्त पूर्वराजा ज्ञानेन्द्र शाह निर्वाचनपछि चुपचाप निर्मल निवासमा हुनुहुन्छ । फागुन २१ गतेको निर्वाचनअघि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै तत्कालको अवस्थामा निर्वाचन गर्नु उपयुक्त नभएको धारणा व्यक्त गर्नुभएका पूर्वराजा शाह निर्वाचनछि कुनै सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन ।
करिब चार महिना लामो झापा बसाइपछि फागुन १ गते काठमाडौं फर्किनुभएका पूर्वराजाले कुनै प्रतिक्रिया दिनुभएको छैन । जेन–जी आन्दोलनपछि अस्थिर रहेको नेपालको राजनीतिमा तत्काल निर्वाचन गर्दा झनै जटिल परिस्थिति आने आँकलन गर्दै राष्ट्रिय सहमतिको आधारमा सरकार बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
देश बिग्रिसकेको अवस्थामा सबै मिलेर देश बनाउनुपर्ने धारणा पूर्वराजा ज्ञानेन्द्रको थियो । निर्वाचनको मुखैमा झापाबाट काठमाडौं फर्किंदा जिल्ला प्रशासन कार्यालयले विमानस्थलभित्र निषेधाज्ञा जारी गरेको थियो । तैपनि राजावादीले उहाँलाई त्रिभुवन विमानस्थलदेखि ¥याली गर्दै निर्मल निवाससम्म पु¥याएका थिए ।
संवैधानिक राजतन्त्र र हिन्दुराज्यको पक्षमा बेलाबेलामा अभिव्यक्ति दिने गर्नुभएका पूर्वराजा हाल शान्तिपूर्ण रूपमा निर्मल निवासमा बसिरहनुभएको छ । भित्री चाहना नाति हृदयेन्द्रलाई राजगद्दीमा ल्याउने प्रयास जारी राखेको निर्मल निवास अहिले पूर्ण शान्त देखिएको छ । उहाँले हरेकपटक झापामा राजनीतिक भेटघाट गर्दा हिन्दुराजा र राजतन्त्रको पक्षमा लाग्न सबैलाई आग्रह गर्ने गर्नुभएको थियो ।
राजावादी र दुर्गा प्रसाईंको समूहले हिन्दुराज्य राजतन्त्रको माग जारी राखेको अवस्थामा पूर्वराजाको हालको मौनतालाई गम्भीर रूपमा हेरिरहेका छन् । ‘निर्वाचनअघि निर्वाचनको माहोल नबनेको भनाइ राख्नुभएका पूर्वराजा अहिले निर्मल निवासमा चुपचाप रहनुभएको छ’ –स्रोतले भन्यो ।
प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी ५ सिट ल्याएपछि निरास देखिनुभएका पूर्वराजाको भावी रणनीति कस्तो छ भन्ने विषयमा आँकलन गर्न सकेको छैन । दुर्गा प्रसार्इं र केही राजनीतिक दलले राजतन्त्र र हिन्दुराज्यको वकालत गरिरहेको अवस्थामा अब निर्मल निवासको रणनीति कस्तो हुन्छ आँकलन गर्न सकिएको छैन ।
धार्मिक भ्रमणको नाममा देश दौडाहामा लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह दर्जनौंपटक झापा पुगिसक्नुभएको छ । झापा बसाइका क्रममा भारत भ्रमण गर्ने गर्नुभएका उहाँको अबको रणनीति के हुन्छ भन्ने विषयमा अनुमान गर्न सकिँदैन । तैपनि उहाँ फेरि पश्चिमाञ्चल भ्रमणमा निस्कने तयारी गरिरहनुभएको छ । उच्च स्रोतका अनुसार केही दिनपछि मिति तय हुनेछ ।
‘निर्वाचनमा रास्वपाले १८२ सिट पाएपछि उसैको नेतृत्वमा केही दिनमा सरकार बन्नेछ । रास्वपाका परिष्ठ नेता बालेन्द्र साह १३ गते प्रधानमन्त्री हुने लगभग निश्चितप्रायः भएको छ । त्यसपछि पूर्वराजाको रणनीति कस्तो हुन्छ भन्ने विषयमा अनुमान गर्न सकिन्छ’ –स्रोतको भनाइ छ ।
‘अहिले उहाँ निर्मल निवासमा रहनुभएको छ । कसैसँग भेटघाट भएको छैन, केही दिनपछि देशदौडामा जाने कार्यक्रम रहेको छ’ –स्रोतको भनाइ छ । नेपाली राजनीतिमा जेन–जी आन्दोलनपछि केही जेन–जीपुस्ताले नेपालमा राजतन्त्र र हिन्दुराज्य ल्याउने पहल गरिरहेका थिए । सोही मेसोमा पूर्वराजा झापा बसेर निर्वाचनको मुखैमा काठमाडौं फर्किनुभएको थियो । यसअघि राजावादीको आन्दोलन विफल भएपछि भदौ ५ गते पूर्वराजा शाह झापा पुग्नुभएको थियो ।
अब फेरि पूर्वराजाले कसरी सक्रियता देखाउनुहुन्छ त्यो भने हेर्न बाँकी छ । दुर्गा प्रसार्इं समूहले राजतन्त्र ल्याउन विभिन्न कार्यक्रम जारी राखेको छ । अबका प्रधानमन्त्री साहले देशको अवस्था कसरी विश्लेषण गर्नुहुन्छ त्यसपछि मात्र भन्न सकिने स्रोतले बतायो । राजतन्त्रको पक्षमा माहोल बनाउन उहाँको देशदौडाहाको काम जारी रहने तथा नरोकिने स्रोतको दाबी छ ।











प्रतिक्रिया