२३–२४ भदौदेखि सुरु भएको ‘बालेन युग’ १३ चैतमा उत्कर्षमा

जनताले यसपटक दल होइन, सपना रोजेका छन् अब त्यो सपना पूरा गर्ने जिम्मेवारी बालेनकै काँधमा छ

1.5k
Shares

– ‘अब १३ चैतपछि बालेन लोकप्रिय नेतामात्रै होइनन् राष्ट्रको आशा, अपेक्षा र परीक्षणको केन्द्र हुन्’

काठमाडौं ।

नेपालको राजनीतिमा एक असाधारण मोड आएको छ । भदौ २३ र २४ बाट सुरु भएको सामाजिक–राजनीतिक उथलपुथल अब १३ चैतमा सत्ताको शिखरमा उक्लिँदै छ– यो हो ‘बालेन युग’को उत्कर्ष । बालेन युग सुरु भइसकेको छ – अब यो सुनौलो इतिहास बन्छ कि चेतावनी वा असफलता !

निर्णय उहाँको शासनले गर्नेछ ।राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) अब १३ चैतदेखि मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ । यो केवल सत्ता परिवर्तन होइन– यो जनआकांक्षा, युवा ऊर्जा र डिजिटल प्रभावले निर्माण गरेको नयाँ राजनीतिक प्रयोग हो । जनताले यसपटक दल होइन, सपना रोजेका छन् अब त्यो सपना पूरा गर्ने जिम्मेवारी बालेनकै काँधमा छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिँदै राष्ट्रिय राजनीतिमा होमिनुभएका बालेनले छोटो समयमै असम्भवजस्तै देखिएको मुलुकको राजनीतिक अवस्था र समीकरण उल्ट्याइदिनुभयो । जब बालेन रास्वपामा प्रवेश गर्नुभयो तब रास्वपाले पनि कुनै ढिलाइ नगरी बालेनलाई नै प्रधानमन्त्रीका रूपमा अघि सार्दै २१ फागुनको निर्वाचनमा होमियो ।

त्यसपछि ओइलाउँदो अवस्थामा रहेको रास्वपालाई फुलाएर मजाको बास्ना दिने दलका रूपमा बालेनले नै स्थापित गराइदिनुभयो । निर्वाचनमा देशभरका अधिकांश मतदाताले बालेनको अनुहार सम्झेरै भोट दिएका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये आधा बढी स्थानका संसद्का उम्मेदवारलाई जनताले चिन्दा पनि चिनेनन् । बालेनलाई नै सम्झेर उनीहरूले भोट दिए ।

विश्लेषकहरूका अनुसार २१ फागुनको निर्वाचन प्रमुख रूपमा बालेनकै एजेन्डा थियो । जब बालेनले २४ भदौमा देश जलिरहेको अवस्थामा जेन–जीहरूलाई सम्बोधन गर्दै देश जलाउन छोडेर प्रधानसेनापतिसँग वार्ता गर्न र वार्ताको पूर्वसर्त प्रतिनिधिसभा विघटन हुनुपर्ने सन्देश दिनुभयो । कारण जेसुकै भए पनि त्यस दिनदेखि हालसम्म मुलुक बालेनकै एजेन्डामा अघि बढिरहेको देखिन्छ ।

२४ भदौको कहालीलाग्दो आक्रमण र राज्यविहीनताको कठिन समयमा सुरुमा जेन–जीहरूले बालेनलाई नै प्रधानमन्त्री बन्न प्रस्ताव गरे । तर, बालेनले आफू नभएर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने वातावरण तय गर्नुभयो । कार्की जब प्रधानमन्त्री बन्नुभयो तत्काल उहाँले बालेनकै एजेन्डाअनुसार प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनमा निर्वाचन गराउने घोषणा गर्नुभयो ।

जुन दिन प्रतिनिधिसभा विघटन भयो र नयाँ चुनावको मिति घोषणा भयो त्यतिबेलादेखि नै बालेन युग सुरु भइसकेको थियो । बालेन युगको बढ्दो तापक्रमअनुसार नै २१ फागुनको निर्वाचनमा बालेन प्रधानमन्त्री बन्ने गरी रास्वपाले झन्डै दुई तिहाइ नजिक विजय हासिल गर्न सफल भयो । बालेन आफैंले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट जादुमय शैलीमा हराउँदै अहिलेसम्मकै सबैभन्दा बढी ६८ हजार ३ सय ४८ मत ल्याएर विजय हासिल गर्नुभयो ।

बालेनको सबैभन्दा ठूलो शक्ति नै सामाजिक सञ्जाल र युवा भावना थियो र छ । देशभर मतदाताले उम्मेदवार होइन– अनुहार रोजे । त्यो अनुहार थियो– बालेन । जब प्रधानमन्त्री हुने लक्ष्यसहित उहाँ रास्वपा प्रवेश गर्नुभयो र देश दौडाहामा लाग्नुभयो त्यसपछि अधिकांश नागरिकहरू उहाँकै अघिपछि लाग्न थाले । निर्वाचनको पूरै माहोल बालेनतर्फ सोझिन थाल्यो ।

छोटो समयमा नै बालेनले अभूतपूर्व रूपमा रास्वपालाई दुई तिहाइ नजिक ल्याउन सक्ने शक्तिशाली दलको रूपमा स्थापित गराइदिनुभयो । जब निर्वाचन परिणाम आउन थाल्यो रास्वपाले कयौं ठाउँमा सोच्दै नसोचेको विजय हासिल गर्न सक्यो । यो सबै बालेनकै योगदान रहेको ठम्याउँदै विश्लेषकहरू भन्छन्, ‘अब १३ चैतपछि बालेन केवल लोकप्रिय नेता होइनन्, उनी राष्ट्रको आशा, अपेक्षा र परीक्षणको केन्द्र हुन् ।’


बालेन युगको यात्रा
२३ भदौ, २०८२→ जेन–जीको आन्दोलनमा समर्थन, महानगरबाट पानी वितरण
२४ भदौ, २०८२→ जेन–जीलाई विनाश र आगजनी रोक्न आग्रह, प्रधानसेनापतिसँग वार्ता तथा प्रतिनिधिसभा विघटनको सर्त
२७ भदौ, २०८२→ बालेनकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त, बालेनकै एजेन्डाअनुसार कार्कीद्वारा

प्रतिनिधिसभा विघटन
२० पुस, २०८२→ रास्वपाको वरिष्ठ नेतामा चयन, प्रधानमन्त्री प्रोजेक्सन
४ माघ, २०८२→ काठमाडौं मेयरबाट राजीनामा राष्ट्रिय राजनीतिमा विधिवत् प्रवेश
२१ फागुन, २०८२ → झापा–५ बाट प्रतिनिधिसभामा सर्वाधिक ६८,३४८ मत ल्याएर विजयी
१३ चैत, २०८२→ सत्ता शिखरमा उदय, प्रधानमन्त्रीमा नियुक्त हुने


बालेन युगका अवसरहरू
–नयाँ राजनीतिक संस्कारको स्थापना
–पारदर्शी, जवाफदेही र परिणाममुखी शासनको सम्भावना
–युवाशक्तिको निर्णायक उदय
–नीति निर्माणमा नयाँ पुस्ताको प्रत्यक्ष हस्तक्षेप
–डिजिटल गभर्नेन्सको तीव्र विस्तार
–सेवा प्रवाह छिटो, स्मार्ट र भ्रष्टाचाररहित बनाउन सकिने

–सानो र चुस्त सरकार
–मन्त्रालय घटाएर खर्च नियन्त्रण र निर्णय क्षमता वृद्धि
–भ्रष्टाचारविरुद्ध निर्णायक प्रहार
–जनसमर्थनकै बलमा ठूला संरचनागत सुधार सम्भव
–संविधान संशोधन र राजनीतिक पुनःसंरचना
–कांग्रेस–एमालेजस्ता दललाई नयाँ प्रतिस्पर्धामा धकेल्ने अवसर
–नियुक्तिहरू पूर्ण रूपमा प्रतिस्पर्धाका आधारमा


बालेन युगका चुनौतीहरू

–अत्यधिक जनअपेक्षाको भारी
–छिटो नतिजा नआए निराशा अझै ठूलो विस्फोटक बन्न सक्छ

–अनुभवको कमी
–कूटनीति, अर्थतन्त्र र शक्ति सन्तुलनमा जटिलता
–दलभित्र व्यवस्थापन संकट
–नयाँ दलमा गुट–उपगुटको सम्भावना उच्च
–सामाजिक सञ्जालमा निर्भर
–भावना घटे राजनीतिक आधार कमजोर हुने जोखिम

–ब्युरोक्रेसीको प्रतिरोध
–पुरानो प्रशासनिक संरचनाले सुधार रोक्न सक्छ
–शक्ति व्यवस्थापनको चुनौती
–दुई तिहाइ नजिकको शक्ति दुरुपयोग आरोपबाट जोगिनुपर्ने
–परिणाममुखी दबाब
–काम नदेखिए लोकप्रियता तीव्र गतिमा खस्किने खतरा

बालेनका प्रारम्भिक संकेत

–१४–१८ मन्त्रालयमा सीमित सरकार
–दक्ष र विषयगत विज्ञलाई मन्त्री
–खर्च कटौती र मितव्ययी
–सुशासन र सेवा सुधार
–डिजिटल प्रणाली विस्तार
–भ्रष्टाचारीलाई कठोर दण्ड
–राइट म्यान इन द राइट प्लेस