कालिञ्चोक र शैलुङमा बाक्लो हिमपात

0
Shares



दोलखा ।

दोलखाको प्रसिद्ध धार्मिक क्षेत्र कालिञ्चोक र शैलुङमा हिमपात भएको छ । शुक्रवार दिउँसोबाट सुरु भएको हिमपात शनिवार साँझसम्म पनि भै रहेको स्थानीयले बताएका छन् ।


शुक्रवार दिउँसो ४ बजेबाट राति १० बजेसम्म हिमपात भएको कालिञ्चोक कुरी स्थित होटल सुनपातिका मेनेजर विमल ओझाले बताए । शनिवार पनि विहानैबाट सुरु भएको हिमपात साँझसम्मै भै रहेको ओझाको भनाई छ ।

कालिञ्चोक क्षेत्रमा आधा फिट बढी हिउँ रहेको र पर्यटकहरू शनिवार विहानैबाट हिउँमा रमाईलो गरिरहेको उनले बताए ।

३,८४२ मिटरको उँचाईमा रहेको कालिञ्चोक मन्दिर क्षेत्रमा विशेषगरी शुक्रवार र शनिवार प्रशस्त पर्यटक पुग्ने गर्छन । महादेव– पार्वतीले तपस्या गरेको विश्वास गरिने कालिञ्चोक टाँपुमा रहेको कुण्डमा बर्ष भरीनै पानी रहने गरेको छ ।

यो कुण्डमा कालो भेडाले दैनिक दूध दिने गरेपछि गोठालाहरूले कालिञ्चोक भगवती भनी पुजा गर्न थालेको किंवदन्ति पनि प्रचलनमा रहेको छ ।

कालिञ्चोक टाँपुबाट गौरीशङ्कर हिमश्रृङ्खला लगायत दोलखा र सिन्धुपाल्चोक जिल्ला तथा चीनका समेत धेरै हिमालहरू देख्न सकिने भएकोले यो क्षेत्रमा धार्मिक तथा प्राकृतिक सुन्दरता नियाल्न धेरै पर्यटक पुग्ने गरेका छन् ।

राजधानि काठमाण्डौ बाट १३३ किलोमिटरको दुरी पार गरी दोलखा सदरमुकाम चरिकोट आउने र चरिकोटबाट १७ किलोमिटर उकालो लागेपछि कालिञ्चोकको कुरी पुगिन्छ । कुरीबाट केबल कार मार्फत कालिञ्चोकको टाँपु पुग्न सकिन्छ । कुरीबाट झण्डै एक घण्टाको पैदल यात्राबाट पनि टाँपु पुग्न सकिन्छ ।

पछिल्लो समय खुर्काेटको बाटो सञ्चालन भएपछि रामेछाप हुँदै तराई तथा भारतको विभिन्न सहरहरू बाट समेत धेरै पर्यटक आउन थालेको स्थानीय बताउछन् । अहिले कालिञ्चोक क्षेत्रमा पुरातत्व विभाग तथा प्रदेश सरकारको सहयोगमा मन्दिर निर्माण लगायत धेरै काम भएको स्थानीय व्यवसायी चन्द्र लामाले बताए ।

शैलुङमा पनि हिमपात
३,१४६ मिटर उँचाईमा रहेको दोलखाको अर्काे धार्मिक एवम् प्रकृतिक गन्तव्य प्रसिद्ध शैलुङ क्षेत्रमा पनि शुक्रवार रातिबाट हिमपात भएको स्थानीय दिपेश श्रेष्ठले बताए । हिमपात पछि शनिवार विहानै देखी पर्यटकहरु रमाई रहेको अर्का स्थानीय सिद्धि श्रेष्ठले बताए ।

एकसय वटा थुम्का रहेको शैलुङबाट हिमश्रृङ्खला हेर्न दैनिक धेरै स्वदेशी एवम् विदेशी पर्यटक पुग्ने गर्छन । शैलुङमा रहेको ग्रेटवाल पछिल्लो समय निक्कै चर्चामा छ । यो क्षेत्रमा शिव मन्दिर, भीमसेन तरवार, गुम्बा लगायतका सांस्कृतिक सम्पदाहरु रहेका छन् ।