पठन संस्कृतिमा सामाजिक सञ्जाल बाधक


उदयपुर ।

“हाम्रो पुस्तकालयः हाम्रो भविष्य” भन्ने नारासहित संगम सामुदायिक पुस्तकालयको २२औँ साधारण सभा शनिबार गाईघाटस्थित पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्य ले सामाजिक सञ्जालको बढ्दो विकृतिले समाजमा नकारात्मक असर पारिरहेको भन्दै यसको नियमन आवश्यक रहेको बताउनुभयो।

उहाँले जिम्मेवार प्रयोग र नीति निर्माणमार्फत मात्र पठन संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

साधारण सभामा सहभागीहरूले पछिल्लो समय डिजिटल मिडिया र सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण पुस्तकालय सञ्चालनमा समस्या उत्पन्न भइरहेको बताएका छन्।

उनीहरूले पठन संस्कृतिको विकासमा सामाजिक सञ्जाल बाधक बन्दै गएको उल्लेख गर्दै युवा पुस्तालाई पुस्तक पढ्ने बानीतर्फ आकर्षित गर्न चुनौती बढ्दै गएको धारणा राखे ।

सहभागीहरूले पुस्तकालयलाई समयानुकूल डिजिटल प्रविधिसँग जोड्दै आकर्षक बनाउनु पर्नेमा जोड दिएका थिए । साथै, स्थानीय तह, सरोकारवाला निकाय र समुदायको सहकार्यबाट पुस्तकालयलाई पुनः ज्ञानको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।

कार्यक्रममा पुस्तकालयका पदाधिकारी, स्थानीय बौद्धिक व्यक्तित्व, विद्यार्थी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।