खोटाङ ।
चैत्र–७, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६ सय १९ जनाले सेवा दिएका छन् ।
ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँ र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।
विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुई दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालमा आयोजना गरिएको शिबिरमा जिल्लाभरीका नागरिकले सेवा लिएका छन् । विभिन्न संस्थासँगको सहकार्यमा आयोजना गरिएको दुई दिने बृहत् स्वास्थ्य शिविर उपलब्धीमूलक बनेको जनाईएको छ ।
निःशुल्क बृहत् स्वास्थ्य सेवा शिविरमा जनरल सर्जरी, स्त्री रोग, महिलाको पाठेघरमा हुने क्यान्सर, हाडजोर्नी, दन्त चिकित्सा, मनोरोग र चर्मरोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष टंक श्रेष्ठले जनाउनुभयो ।
शिविरका लागि ओम हस्टिल एण्ड रिसर्च सेन्टरका प्रा.लि. काठमाडौँका प्रमुख चिकित्सक डा.आनन्दप्रसाद श्रेष्ठसहित ३८ जनाको विशेषज्ञ टोली दिक्तेल आएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको सहयोगमा स्वास्थ्य परीक्षण तथा उपचारको बन्दोबस्त मिलाइएको थियो ।
शिविरमा लक्ष्यभन्दा १ सय १९ जना बढी नागरिकलाई निःशुल्क सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।











प्रतिक्रिया