स्याङ्जाका युवक सामाजिक सञ्जाल ठगीमा पक्राउ


स्याङ्जा ।

सामाजिक सञ्जाल प्रयोग गरी महिलाहरूलाई ठगी गरेको आरोपमा स्याङ्जाका ३४ वर्षीय भेषराज वाग्लेलाई काठमाडौंबाट पक्राउ गरिएको छ।

प्रहरीले जानकारी दिएको अनुसार, वाग्ले टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै विभिन्न बहानामा रकम असुल गर्ने काम गरेको थियो।

आरोपितले आफू अमेरिकन आर्मीमा कार्यरत रहेको र नेपालमा बिदामा आएको भन्दै जग्गाको कर तिर्न समस्या भएको जस्ता बहानामा रकम ठगी गरेको बताइएको छ। त्यसैगरी आफ्नो बैंक खातामा ‘लिमिट’ लागेको भन्दै पनि विभिन्न व्यक्तिसँग रकम माग्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

वाग्लेलाई चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग आर्थिक कारोबार नगर्न र कुनै प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।