प्रधानमन्त्री कप: वर्षाका कारण कर्णाली–लुम्बिनी खेल रोकियो


काठमाडौ ।

वीरगञ्जस्थित नारायणी रंगशालामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ। लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो।

खेल रोकिँदा कर्णालीले ७ ओभरमा २० रन बनाएको थियो। कर्णालीका ओपनर रवीन्द्र शाही ९ र सुनिल धमला ७ रनमा क्रिजमा थिए।

लुम्बिनीका बलर सन्देश थापाले ४ ओभरमा १२ रन खर्चे भने राजेन्द्र बमले ३ ओभरमा एक मेडनसहित ८ रन मात्र दिए।

प्रतियोगिता मधेश प्रदेश र काठमाडौंको मुलपानी मैदानमा सञ्चालन हुँदैछ। १० टोलीले प्रतिस्पर्धा गरिरहेका यस संस्करणको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साविक विजेता नेपाल पुलिस क्लब हो।