कांग्रेसद्वारा मुस्लिम समुदायलाई ईदको शुभकामना


काठमाडौँ ।

नेपाली कांग्रेसले मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व ईद (ईद-उल-फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको कामना गरेको छ।

शनिबार जारी विज्ञप्तिमा पार्टीले ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र मानवताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

कांग्रेसले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको र विभिन्न जातजातिका आफ्नै परम्परा र संस्कृति रहेको उल्लेख गर्दै, विविधता भित्रको एकतालाई नेपाली पहिचानको मूल आधार भएको जनाएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा, यो पावन अवसरले समाजमा सद्भाव र एकताको सन्देश प्रवाह गर्ने अपेक्षा व्यक्त गरिएको छ।

कांग्रेसले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा ‘ईद मुबारक’ व्यक्त गर्दै राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरेको छ।