बागलुङमा अनपेक्षित भारी हिमपात, ढोरपाटन सेताम्य


काठमाडौ ।

बागलुङको उच्च पहाडी क्षेत्र ढोरपाटनसहितका क्षेत्रमा शुक्रबार दिउँसोदेखि भारी हिमपात भएको छ। ढोरपाटन सेताम्य बनेको र स्थानीय जनजीवन प्रभावित भएको छ।

ढोरपाटन नगरपालिका–९ का धनबहादुर विकका अनुसार, हिमपातले गर्दा वस्तु भाउ र घाँस–दान व्यवस्थापन गर्न समेत समस्या भएको छ। केही दिनअघि सामान्य वर्षा भएको भएपनि अहिले निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न पनि कठिनाइ भएको उनले बताए।

स्थानीय तुलराम पुनले हिमपातले अत्यधिक चिसो बढाएको र रातिदेखि परेको भमरी हिमपातले पशुचौपायालाई घाँस दान खुवाउन पनि समस्या सिर्जना गरेको बताए।

यस पटकको हिमपातले ढोरपाटनवासीको आलु रोप्ने तयारी समेत प्रभावित बनाएको छ।

चाहिँदा अलिअलि वर्षा परेको भए पनि यो असामयिक हिमपातले दैनिक जीवन कष्टकर बनेको स्थानीयको भनाइ छ।