काठमाडौँ।
साउदी अरेबियाले इरानप्रति कडा चेतावनी दिँदै आफ्नो धैर्यताको सीमा नाघ्न लागेको संकेत गरेको छ। इरानबाट आफ्ना पूर्वाधारमा आक्रमण भइरहेमा आफूहरू प्रतिकार गर्न बाध्य हुने साउदीले जनाएको छ।
साउदी विदेशमन्त्री फैसल बिन फरहानले भने, “हाम्रो धैर्यताको पनि सीमा हुन्छ।” उनले इरानलाई लक्षित गर्दै साउदी अरेबिया र उसका खाडी सहयोगीहरूसँग आवश्यक परे प्रयोग गर्न सकिने महत्वपूर्ण सैन्य क्षमता रहेको उल्लेख गरे।
खाडी राष्ट्रहरूले अमेरिका, बेलायत र फ्रान्सबाट अत्याधुनिक हतियार खरिद गरेर आफ्नो वायुसेना सुदृढ बनाएका छन्। तर इरानविरुद्ध सम्भावित द्वन्द्वमा अमेरिका र इजरायलसँग मिलेर अघि बढ्दा ठूलो जोखिम हुने आकलन गरिएको छ।
हालै साउदी अरेबियाको रास तनुरा तेल प्रशोधन केन्द्रमा आगलागीपछि धुवाँ निस्किएको घटनाले पनि तनाव बढाएको छ।
विश्लेषकहरूका अनुसार इरानसँगको द्वन्द्व बढेमा खाडी क्षेत्रमा बम आक्रमणको जोखिम बढ्न सक्छ र सरकारी संरचनासमेत निशानामा पर्न सक्छन्।
यसबाहेक, आन्तरिक जनमत पनि साउदी सरकारका लागि चुनौती बन्न सक्छ। धेरै नागरिकले अर्को मुस्लिम बहुल राष्ट्रविरुद्ध इजरायलको पक्षमा उभिने निर्णयलाई सहज रूपमा नस्वीकार्न सक्ने देखिएको छ।-बीबीसी











प्रतिक्रिया