जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्छ : वरिष्ठतम न्यायाधीश  मल्ल

महिला कानुन व्यवसायीको ३२ औँ राष्ट्रिय सम्मेलन सुरु 

1.69k
Shares

भक्तपुर ।

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्ने बताउनुभएको छ । आजदेखि भक्तपुरमा सुरु भएको महिला कानुन व्यवसायीको ३२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीचको निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो । 

वरिष्ठतम न्यायाधीश मल्लले बार र बेन्चबीचको संवादले न्याय सम्पादनमा रहेका अवरोधहरू हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अदालत अहिले जटिल परिस्थिति र संकट व्यवस्थापनको योजनाबाट गुज्रिरहेको बताउँदै  उहाँले सुशासनका लागि न्याय परिषद्लाई प्रभावकारी बनाउनु पर्ने र सुक्ष्म निगरानीलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।

न्यायाधीश नियुक्तिमा उठ्ने गरेका प्रश्नहरूबारे प्रष्ट गर्दै उहाँले पारदर्शी ढंगले क्षमताको आधारमा राजनीतिक हस्तक्षेपमुक्त नियुक्ति हुनुपर्ने बताउनुभयो ।
महिला कानुन व्यवसायीहरूलाई न्याय सुधारका क्षेत्रहरू पहिचान गर्न आग्रह गर्दै न्यायधीश मल्लले बिगतमा संसद् विघटन जस्तो गम्भीर संवैधानिक मुद्दामा फैसला गर्दा पनि महिला न्यायधिसको क्षमताको परीक्षण नसकिएकोमा गुनासो गर्नुभयो ।

उहाँले यौनजन्य हिंसामा परेका महिला तथा बालिकाहरूको न्याय सुनिश्चित गर्न अदालतले विश्वमै उदाहरणीय र नयाँ कानुनी नजिरहरू स्थापित गरेको बताउनुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता सविता भण्डारीले कानुन व्यवसायी महिलाहरू केवल पेशागत भुमिकामा मात्र सिमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताउनुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले सरकारका सबै क्रियाकलापहरु संविधानवाद र कानुन अनुरूप चल्नुपर्ने बताउनुभयो ।
नेपाल बार एशोसिएशनको आयोजनामा सुरु भएको सम्मेलन भोलीसम्म सञ्चालन हुने छ ।
सम्मेलनमा महिला कानुन व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ ।