किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस भव्य रूपमा सम्पन्न


काठमाडौँ।

विश्वभर प्रत्येक वर्ष मार्च २० मा मनाइने विश्व मुख स्वास्थ्य दिवसको अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै दिवस सफलतापूर्वक सम्पन्न गरेको छ।

यस वर्ष अ हेप्पी माउथ ईज अ हे्पी लाईफ भन्ने अन्तर्राष्ट्रिय नारासहित मनाइएको उक्त दिवसले जीवनभर मुख स्वास्थ्यको महत्व र समग्र स्वास्थ्यसँग यसको सम्बन्धलाई उजागर गर्ने लक्ष्य राखेको छ।

हस्पिटलले “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै आयोजना गरेको कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत सचेतनामूलक र्‍याली निकालिएको थियो, जसमार्फत मुख तथा दन्त स्वास्थ्यको महत्व, नियमित जाँच तथा समयमै उपचारको आवश्यकता सम्बन्धी सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रममा डेन्टल प्रदर्शनी पनि आयोजना गरिएको थियो, जहाँ सहभागीहरूलाई मुख तथा दन्त स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको थियो। यसका साथै, आयोजना गरिएको कला प्रतियोगिताले बालबालिकाहरूको सृजनात्मक क्षमतालाई उजागर गरेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई थप आकर्षक बनाउन फ्ल्यास मोब, फेस पेन्टिङ, खेलकुद गतिविधि तथा सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो। यी गतिविधिहरूले सहभागीहरूलाई मनोरञ्जनसँगै शिक्षाप्रद अनुभव प्रदान गरेका थिए।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार मुख स्वास्थ्य केवल दाँतसम्म सीमित नभई सम्पूर्ण शारीरिक स्वास्थ्यसँग जोडिएको हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार मुखसम्बन्धी रोगहरू विश्वका सबैभन्दा सामान्य रोगमध्ये पर्दछन् र धेरैजसो अवस्थामा यस्ता समस्याहरू रोकथाम गर्न सकिने हुन्छन्।

यस अवसरमा किस्ट टिचिङ हस्पिटलले विशेष छुट योजनाको घोषणा पनि गरेको छ। अस्पतालका अनुसार डेन्टल उपचारमा २५ प्रतिशत तथा अर्थोडोन्टिक्स (दाँत मिलाउने उपचार) मा १५ प्रतिशत छुट प्रदान गरिनेछ। उक्त सुविधा चैत १, २०८२ देखि बैशाख ३१, २०८३ सम्म लागू रहने जानकारी दिइएको छ।

कार्यक्रममा सहभागी अतिथि, चिकित्सक, विद्यार्थी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै आयोजकले यस्ता कार्यक्रमहरूले जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

विश्व मुख स्वास्थ्य दिवस विश्वव्यापी रूपमा मनाइने एक महत्वपूर्ण जनस्वास्थ्य अभियान हो, जसले व्यक्तिगत सरसफाइ, नियमित दन्त परीक्षण र रोगको प्रारम्भिक पहिचानमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।