काठमाडौं ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ। शुक्रबार अपराह्नदेखि उपत्यका र तराईका विभिन्न जिल्लामा हुरीसहित भारी वर्षा भएको हो। वर्षा तीव्र हुँदा उपत्यकामा दिउँसै अँध्यारो भएको जस्तो देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले तराईका केही जिल्लामा हावाहुरीसहित असिनापानी पर्न सक्ने चेतावनी दिँदै सम्भावित मानवीय तथा भौतिक क्षतिबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
खराब मौसमका कारण काठमाडौं उपत्यकामा जनजीवन प्रभावित भएको छ भने आन्तरिक उडानहरू समेत अवरुद्ध भएका छन्। पश्चिम नेपालमा सक्रिय हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट नेपालगन्जका लागि निर्धारित उडानहरू रद्द गरिएको छ। विमानमा चढिसकेका यात्रुहरूलाई समेत पुनः ओरालेर फर्काइएको सुरक्षा कार्यालयले जनाएको छ।
काठमाडौं–नेपालगन्ज रुटमा सञ्चालन हुने बुद्ध एयरलाइन्स र यति एयरलाइन्स का उडानहरू रद्द भएका छन्। साथै, भैरहवाका लागि यति एयरलाइन्सको उडान ढिलाइ भएको छ भने सुर्खेतका लागि तय गरिएको उडान पनि रद्द गरिएको छ।
पश्चिमी वायु सक्रिय भएसँगै लुम्बिनी प्रदेशलगायत पश्चिमका विभिन्न जिल्लामा दिउँसै हावाहुरी र वर्षा भइरहेको छ। चट्याङ र मेघगर्जनसमेत भइरहेकाले विमानस्थलहरूले उडानहरू निरन्तर रद्द गरिरहेका छन्।











प्रतिक्रिया