
दोलखा । दोलखाको हिमाली गाउँ लप्चीमा भालुले दुःख दिन थालेपछि स्थानीयले घरको ढोका, सिँढी वा भालु पस्न सक्ने मुख्य द्वारमा तिखा फलामे काँटी ठोकेको पिर्का राख्न थालेका छन् । घरमा मानिस नभएको मौकामा भालु घरमा पसेर उपद्रो गर्न थालेपछि घरेलु प्रविधि फलामे काँटीको पिर्का वा फलेक राख्न थालिएको स्थानीय बताउँछन् । यस्तो काँटीले खोप्ने हुँदा भालु भित्र जानबाट रोकिने बताइन्छ ।
दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१ मा पर्ने लप्ची चीनको तिब्बतसँग सिमाना जोडिएको हिमाली गाउँ हो । चिसो मौसममा लप्चीमा बस्न नसकिने भएकोले यहाँका बासिन्दाको वडा नम्बर– १ कै लुम्नाङमा दोस्रो घर पनि रहेको हुन्छ ।
हरेक वर्ष मंसिरदेखि चैत्रसम्म चिसोका कारण दोस्रो घर लुम्नाङ झर्दा लप्चीको घरमा भालु पसेर अन्नपात नोक्सान गर्ने भएकोले फलेकमा फलामे काँटी ठोकेर बनाइएको घरेलु प्रविधि ढोकामा राख्ने गरिएको स्थानीय कुन्जु नोर्बु शेर्पाले बताए ।
चिसो छल्न दोस्रो घर लुम्नाङ झर्दा लप्चीका घरमा झ्यालहरु मजबुतसँग बन्द गर्ने र ढोकामा फलामे काँटीसहितको पिर्का राख्ने गरेपछि भालु आतङ्क कम भएको स्थानीय बताउँछन् ।
लप्ची गाउँमा २६ वटा घर रहेका छन् । २०७२ सालको भूकम्पपछि बनेका लप्चीका अधिकांश घरहरु होचा भएकाले भालुलाई घरभित्र पस्न सजिलो भएको स्थानीय बताउँछन् । चिसो मौसममा दोस्रो घर लुम्नाङ झर्दा सबै अन्नपात लान सम्भव छैन, स्थानीय कुन्जु नोर्वु शेर्पा भन्छन्– त्यसैले अन्नपात जोगाउन घरको ढोकामा फलामे काँटीसहितको पिर्का राख्ने गरेका हौँ ।
मंसिरदेखि चैत्रसम्म लप्चीका सबै स्थानीय लुम्नाङ झर्ने भएपछि गाउँ पूरै खाली हुने गरेको छ । यो मौसममा उनीहरु अन्नपात आवश्यक भएको बेलामा मात्र माथि उक्लने गरेका छन् ।











प्रतिक्रिया