सुर्खेत ।
फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा रहस्यमय अवस्थामा मृत फेला परेकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणले कर्णाली प्रदेशसभामा प्रवेश पाएको छ । विद्यालय जान्छु भनी घरबाट निस्किएकी बालिकाको बलात्कारपछि बीभत्स हत्या भएको दाबी गर्दै सांसदहरूले घटनाको निष्पक्ष छानविन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रणसिं परियारले घटनाको १३ दिन बितिसक्दा पनि वास्तविक तथ्य बाहिर नआएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले प्रदेश राजधानीकै मुटुमा अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा भएको यस्तो जघन्य अपराधको अनुसन्धानमा ढिलाइ भएकोमा तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो ।
‘जहाँ सुरक्षा र न्यायको व्यवस्था बलियो छ भनिन्छ, त्यहीँ एउटा दलित बालिकाको बीभत्स हत्या हुन्छ र अनुसन्धान निष्कर्षमा पुग्न सक्दैन, के कुराले अड्काएको छ ?’ भन्दै उहाँले प्रश्न गर्नुभयो । पहुँचका आधारमा अनुसन्धान प्रभावित हुन नहुने र घटनालाई विषयान्तर गरिए संसद्बाटै कडा प्रतिवाद गर्ने चेतावनी उहाँले दिनुभयो ।
त्यस्तै, नेकपाकै अर्का सांसद उर्मिला विश्वकर्माले पनि घटनाका दोषीलाई कानुनको कठघरामा उभ्याउन राज्यका निकाय गम्भीर हुनुपर्ने माग गर्नुभयो ।
यसैबीच, इनिशा विकको परिवारलाई भेट्न गएका बेला शव उठाउन दबाब दिएको भन्दै सामाजिक सञ्जाल र केही युट्युबरहरूले फैलाएको चर्चाप्रति मुख्यमन्त्री यामलाल कँडेलले संसद्बाटै स्पष्टीकरण दिनुभएको छ । दोस्रो कार्यकालको सातौँ अधिवेशनको पाँचौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकार प्रमुखका हैसियतले पीडित परिवारलाई सान्त्वना दिन र न्यायको अनुभूति दिलाउन गएको विषयलाई गलत अर्थ लगाइएको बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले घटनाको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटिएकाले पीडितले न्याय पाउनेमा प्रदेश सरकार दृढ रहेको विश्वास दिलाउनुभयो । प्रहरीले हालसम्म घटनामा संलग्न भएको आशंकामा एक १६ वर्षीय किशोरसहित अन्य तीन बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । प्रारम्भिक अनुसन्धानले बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको देखाए पनि प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ ।











प्रतिक्रिया