काठमाडौं ।
मध्यपूर्व क्षेत्रमा अमेरिका, इजरायल र इरानबीच बढ्दो तनाबले विश्व राजनीति नयाँ मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमलाई लिएर विश्वभर फरक–फरक ढंगले विश्लेषण भइरहेका छन् भने सम्भावित द्वन्द्वले विश्व अर्थतन्त्रदेखि एसियाली मुलुकहरूसम्म प्रत्यक्ष असर पार्ने संकेत देखिएको छ ।
अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यसपछिको प्रतिकारात्मक गतिविधिले अहिले मध्यपूर्वलाई अत्यन्त संवेदनशील अवस्थामा पु¥याएको छ । इजरायल इरानमाथि निर्णायक कारबाहीको पक्षमा देखिएको छ भने अमेरिका प्रारम्भिक आक्रामक रणनीतिबाट क्रमशः दबाबमा परेको संकेतहरू देखिन थालेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आफ्नै निर्णयको प्रभाव उल्टै पर्न थालेको विश्लेषण अन्तर्राष्ट्रिय वृत्तमा भइरहेका छन् ।
मध्यपूर्वमा आफ्नो प्रभाव सुदृढ गर्ने लक्ष्यसहित इजरायल अगाडि बढिरहेको देखिन्छ । इरानको क्षेत्रीय प्रभाव र सम्भावित आणविक क्षमतामाथि नियन्त्रण राख्न इजरायलले कडा रणनीति अपनाइरहेको छ । तर, अमेरिका भने यस क्रममा अपेक्षित अन्तर्राष्ट्रिय समर्थन जुटाउन असफल देखिएको छ ।
युरोपेली देशहरूले प्रत्यक्ष सैन्य सहयोग नदिने संकेत गरेपछि अमेरिका कूटनीतिक रूपमा केही हदसम्म एक्लिएको देखिएको छ । नाटोजस्तो संरचनालाई समेत सक्रिय रूपमा युद्धमा उतार्न नसक्दा अमेरिकी रणनीति कमजोर बनेको विश्लेषण गरिएको छ । यसैकारण राष्ट्रपति ट्रम्प आफ्ना परम्परागत सहयोगी राष्ट्रहरूप्रति असन्तुष्ट हुन थाल्नुभएको छ ।
इरानले आफ्नो प्रमुख नेतृत्व गुमाइसकेको अवस्थामा पनि प्रतिकारात्मक रणनीति अपनाउँदै आएको देखिन्छ । मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारहरू तथा रणनीतिक संरचनामाथि लक्षित आक्रमणहरूले इरान युद्धबाट भाग्ने पक्षमा देखिँदैन यसले क्षेत्रीय अस्थिरता झनै चर्किंदै गएको संकेत गरेको छ । प्रत्यक्ष युद्ध घोषणा नभए पनि नियन्त्रित द्वन्द्वको अवस्था देखिएको विश्लेषकहरू बताउँछन् । यस्तो अवस्थाले दीर्घकालीन अस्थिरता निम्त्याउने जोखिम उच्च रहेको छ ।
स्ट्रेट अफ हर्मुजजस्तो महत्वपूर्ण जलमार्गमा अवरोध आएपछि विश्व बजारमा ऊर्जा संकटको त्रास बढ्दै गएको छ । यो जलमार्ग विश्वको ठूलो भागको तेल आपूर्ति हुने मुख्य मार्ग भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय बजारमा अहिले तहल्का मच्चिएको छ ।
तेल र ग्यासको मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको छ । ऊर्जा आयातमा निर्भर देशहरूमा यसको असर प्रत्यक्ष रूपमा देखिन थालेको छ । विशेषगरी विकासशील मुलुकहरू आर्थिक दबाबमा पर्न थालेका छन् । यस संकटको सबैभन्दा गहिरो असर एसियाली देशहरूमा देखिन थालेको छ ।
भारत, चीन, जापान र दक्षिण कोरियाजस्ता ठूला अर्थतन्त्रहरू मध्यपूर्वबाट तेल आयातमा निर्भर छन् । आपूर्ति अनिश्चित हुँदा तेलको मूल्य बढ्न थालेको छ भने व्यापार घाटा चुलिने अवस्थामा पुगेको छ, महँगी वृद्धि हुन थालेको छ ।
नेपालजस्तो आयातमा निर्भर मुलुकमा पेट्रोलियम पदार्थको मूल्य बढिसकेको छ भने यातायात र उपभोग्य वस्तु महँगिएका कारण नेपालको समग्र अर्थतन्त्रमा दबाब पर्न थालेको छ । अमेरिकाविरुद्ध चीन, रूस र उत्तर कोरियाजस्ता देशहरूले खुला वा अप्रत्यक्ष रूपमा आलोचना गरिरहेका छन् । यसले विश्वलाई फेरि दुई ध्रुवतर्फ धकेल्ने संकेत दिएको छ । शक्ति सन्तुलनको नयाँ समीकरण निर्माण हुने सम्भावना बढेको छ ।
अमेरिकाले यी देशहरूलाई दबाबमा राख्ने रणनीति अपनाएको भनिए पनि त्यसको परिणाम उल्टै विश्वव्यापी तनाबका रूपमा देखिन थालेको विश्लेषण हुन थालेको छ । मध्यपूर्वको पछिल्लो अवस्थाले विश्वलाई पुनः अस्थिरताको दिशातर्फ धकेल्ने संकेत दिएको छ । अमेरिका, इजरायल र इरानबीचको तनाबले केवल क्षेत्रीय नभई विश्वव्यापी प्रभाव पार्ने सम्भावना बढेको छ ।
विशेषगरी एसियाली मुलुकहरू ऊर्जा निर्भरता, श्रम आप्रवासन र आर्थिक संरचनाका कारण यस संकटबाट सबैभन्दा बढी प्रभावित हुने देखिन्छन् । नेपालजस्ता देशका लागि चुनौती अझ गम्भीर छ । बाह्य संकटले आन्तरिक अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने अवस्था सिर्जना हुँदै छ । अहिलेको अवस्थामा विश्व समुदायका लागि सबैभन्दा ठूलो आवश्यकता तनाब न्यूनीकरण र कूटनीतिक समाधान खोज्नु हो । अन्यथा, यो संकट मध्यपूर्वमै सीमित नरही विश्वव्यापी आर्थिक र राजनीतिक अस्थिरतामा रूपान्तरण हुने खतरा बढ्दै गएको छ ।











प्रतिक्रिया