एक दशकपछि बल्ल सुरु भयो कुमारीघरको जीर्णोद्धार

1.03k
Shares

काठमाडौँ ।

भूकम्पले क्षतिग्रस्त कुमारी घरको एकदशकपछि बल्ल पुनर्निर्माण सुरु भएको छ । सुरुमा छानो मर्मतपछि जीर्ण अन्य संरचना पुनर्निर्माण गर्नेगरी काम सुरु भएको हो । जीर्णोद्धार सुरु भएको केही दिनपछि काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायतको टोलीले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा कावा मेयर डंगोलले यस वर्षको वर्षायाम सुरु हुनुअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिनुभएको छ । डंगोलले हिजो बिहीबार अनुगमनका क्रममा सो निर्देशन दिनुभएको हो ।
अनुगमन गर्र्दै उहाँले कुमारीघरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिनुभएको हो । उहाँले कुमारी वहाल काठमाडौंको अनुहार भएको उल्लेख गर्दै यसको छानो चुहिएको सूचना पाएपछि चासो राखेर कामपा जीर्णोद्धारका लागि आएको बताउनुभयो ।
‘जीर्णोद्धारअघि सरोकारवाला तथा स्थानीयसँग पटक पटक छलफल गरेपछि प्राविधिक अध्ययन ग¥यौँ । कानुनी र प्रशासनिक प्रक्रियाका विषयमा छलफल ग¥यौँ । यसक्रममा प्राप्त भएको प्राविधिक प्रतिवेदन र साझेदारसँगको सहमतिका आधारमा काम थालनी गरिएको हो’ –उहाँको भनाइ थियो ।

अनुगमनका क्रममा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले नियमित निगरानीबाट समयमा काम सम्पन्न गर्न सहजीकरण गर्ने बताउनुभयो । उहाँले महत्वपूर्ण कामलाई उच्च प्राथमिकता दिएर सञ्चालन गरिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंले सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीसहित अधिकारी र स्थानीय सहभागी थिए ।

हनुमानढोका दरबार संरक्षण कार्यक्रम कार्यालयका आर्किटेक्ट अमित वज्राचार्यका अनुसार कुमारीघरको छानो ४६४ वर्गमिटर क्षेत्रफलको छ । सुरुमा पूर्व र उत्तरतर्फको छानोलाई मर्मत गरिनेछ । त्यसपछि मात्र पश्चिम र दक्षिणतर्फको छानो मर्मत गरिनेछ ।

कुमारी घरको नामले चिनिने कुमारी वहालको तीनै तलाको पर्खालमा चिरा परेको छ । केही थाम र मेठहरूले ठाउँ छोड्ने अवस्था छ । कतिपय दलिनहरू कीराले खाएर स–साना प्वाल पारेको छ । ठाउँठाउँका काठ मक्किएको छ । दोस्रो तलामा सिसाले छोपेर राखिएको भित्तेचित्र जोगाउनुपर्ने अवस्थामा छ । थामबाहेक अधिकांश काठ अग्राखका नभई कुकाठ प्रयोग भएकोलगायत समस्या देखिएपछि तत्काल जीर्णोद्धार सुरु गरेको हो ।

झिंगटी छानो चारैतिर ठाउँठाउँमा धसिएको छ । धुरी चाङ्ग फुटे खसेको छ । म्बंगचा खसेको छ । आइरन वेल्ट खुस्केका छन् । कहीँ त आइरन बेल्ट नै छैन । मुठल, झिगटीहरू खुस्केका छन् । टुँडाल झरेका र मक्किएका छन् । नस नभएको वा भए पनि मक्किएका छन् ।

अधिकांश मुसीहरू फेर्नुपर्ने अवस्थाका छन् । गजुरको वेस मर्मत गर्नुपर्ने अवस्थामा छ । कोपु थप्नुपर्ने अवस्थामा छ । बुइँगलको पर्खाल जीर्ण भएको छ । फलेकमाथि प्लास्टिक फेल्ट नराखी माटोमा झिँगटी राखेका कारण फलेकहरू कुहिएको छ ।

पुरातत्वविद् पुरुषोत्तम डंगोलको समितिले प्रतिवेदनको आधारमा जीर्ण सम्पदा पुनर्निर्माण गर्न लागेको हो ।