गगनको गाँठो, हेरौं कार्यसमिति कति छ बाठो ?


काठमाडौं ।

निर्वाचनमा नेपाली कांग्रेसलाई सम्मानजनक जित दिलाउन नसकेको र आफैं पनि पराजित भएका कारण पार्टी सभापतिको पदबाट राजीनामा दिनुभएका गगनकुमार थापाको राजीनामा आज बस्ने कार्यसमितिको बैठकले स्वीकार गरेमा कांग्रेस झनै कमजोर भएर जाने विश्लेषण गरिएको छ ।

सभापति बनेर सीधा उभिन नपाउँदै आएको निर्वाचनको आँधीबेहरीको प्रहारले उहाँ कमजोर भएको सोच्नु क्षणिकमात्रै हुनेछैन भूलसमेत हुनेछ । किनभने आज राजनीतिक गाँठोमा अल्झिएका गगनले नै भोलि यस मुलुकको नेतृत्व सम्हाल्ने रेखाचित्र प्रस्ट देखिन्छ ।

राजनीतिक वृत्तमा गम्भीर भएर सोच्ने हो भने भोलि नेपालको राजनीतिको मूल बाटोमा सबैलाई पछि पार्दै उभिने नेता गगन थापा नै बन्नुहुनेछ । अरूलाई पछि छोड्ने उहाँको यात्रा आजैबाट सुरु भइसक्यो । उहाँभन्दा लामो समयदेखि राजनीतिमा लागेका अन्य पार्टीका नेताले फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेसजतिको हैसियत बनाउन सकेनन्, तर पनि आनन्दले घुरेर सुतेका छन् । नैतिकताको अनुभूति गर्दैनन् । राजीनामा दिने, जिम्मेवारी बोध गर्ने संकेतसम्म देखिन्न । तर, गगनले नै त्यसको अगुवाइ गर्दै नैतिकता र इमानदारिता देखाउँदै राजीनामा गर्नुभयो ।

उमेरले ५० वर्ष पुग्नै लाग्नुभएका गगनका लागि २०८२ साल उतार–चढावयुक्त सावित भयो, पार्टीमा विद्रोह गर्दै सभापति बन्नु चढावको दृष्टान्त थियो भने प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा पराजय उतारको उदाहरण । विगतमा पनि उहाँको राजनीतिक यात्रा उतार–चढावयुक्त नै थियो ।

चारपटक प्रतिनिधि सभामा सांसद रहनुभएका गगनलाई विगतमा आफ्नै पार्टीको नेतृत्वले नराम्रोसँग खेद्यो । उहाँलाई अघि बढ्न नदिन तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मोर्चा नै कस्नुभएको थियो । राजा ज्ञानेन्द्रको अधिनायकवादी कदमविरुद्ध सक्रिय बनेर सडकमा उत्रनुभएका थापा र नेता नरहरि आचार्यजस्ता व्यक्तिको अडानका कारण नेपाली कांग्रेस गणतन्त्रवादी बनेको हो ।

विज्ञान विषयका स्नातक गगनले जब–जब अवसर पाउनुभयो, प्रतिनिधिसभामा होस् वा बाहिरका मञ्चहरूमा आम दर्शकको मन जित्नुभयो । ९ वर्षअघि स्वास्थ्यमन्त्री हुँदा पनि राम्रै काम गरेर प्रशंसा कमाउनुभयो । उहाँले ल्याउनुभएको स्वास्थ्य बिमा कार्यक्रमको अहिले पनि सबैतिर सराहना भइरहेको छ । उहाँ त्रिचन्द्र कलेजमा रहेर नेविसंघमा सक्रिय रहँदादेखि नै चर्का नारा दिएर लोकप्रिय बन्ने कम्युनिस्ट नेता तथा विद्यार्थीहरूका लागि चिन्ताका पात्र बन्नुभएको थियो । आफ्नै पार्टीभित्र रहेका अलोकतान्त्रिक अभ्यासका विरुद्ध शंखघोष गर्ने गगनले अरू पार्टीका युवालाई ‘लौ, मैलेजस्तो आफ्नै राजनीतिक दलको नेतृत्वविरुद्ध आवाज उठाएर सीधा खडा भएर उदाउनुस् त’ भनेर हाँक पनि दिनुहुन्थ्यो ।

गगन थापा प्रतिनिधिसभामा पुग्नैपर्ने पात्र हुनुहुन्छ । पुराना दलहरूले पछिल्लो निर्वाचनमा जे–जति पराजय भोगे त्यो सत्तरी वर्ष उमेर पार गरेर पनि सत्तामै टाँसिने अधिनायकवादी चरित्रका कारण हो । गगन त त्यस अधिनायकवादी चरित्रका विरुद्ध उत्रिएको पात्र हो । आज प्रतिनिधिसभामा नेका दोस्रो शक्तिका रूपमा कायमै छ, यो अवस्था गगन थापाको विद्रोहका कारण सम्भव भएको हो ।

शेरबहादुर देउवा र आरजु राणाका कारण होइन । आरजु जो शेरबहादुरलाई पनि डो¥याउने ‘भाउजू’को हैसियतमा हुनुहुन्थ्यो उहाँकै कारण नेकाको छवि रसातलमा पुगेको थियो । त्यस अधिनायकवादी र अपारदर्शी व्यवहारको विरोध गर्ने नेतृत्व देखेर नै जनताले नेकालाई दोस्रो ठूलो दल बनाएका हुन् । अन्य राजनीतिक दलमा यस प्रकारको विद्रोह नभएको, सुधारको सम्भावना बोकेर कोही बाहिर नआएका कारण र जिम्मेवारीबोध शून्य देखिएकाले जनताले उनीहरूलाई रसातलमै पु¥याए ।

‘सभापतिको राजीनामा पत्र नेपाली कांग्रेस केन्द्रीय समितिमा आएको छ । राजीनामालाई स्वीकार गर्ने कि अस्वीकार भन्ने विषय अब केन्द्रीय समितिको अधिकार क्षेत्रभित्र छ’ –कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले बुधबार भन्नुभएको छ ।

कांग्रेसभित्रै कतिपयले पार्टी कमजोर देखिनुमा ‘एकजनाले मात्र जिम्मेवारी लिन आवश्यक नहुने’ बताउँदै आएका छन् । यतिखेर प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट छ । रास्वपासँगको अन्तर १४४ सिटको बनेको छ ।
नेपाली कांग्रेलाई पराजित गराउनुमा पुरानो नेतृत्व त्यसका मतियारहरू बढी जिम्मेवार छन् ।

गगन थापा नेतृत्वमा आएपछि शेरबहादुर र आरजुहरूले मतदान गर्ने जाँगरसम्म देखाएनन् । पार्टीभित्रकै गुटबन्दी र असहयोगले नेतृत्वलाई कमजोर बनाएको हो, नेतृत्वको असफलतामात्र होइन । देउवा समूहले आफ्नै पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर ‘घण्टी’ पक्षमा मतदान ग¥यो भन्ने टिप्पणी पनि बाहिर आएको छ । यद्यपि यस आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने गगन थापालाई नयाँ पुस्ताको आशा र परिवर्तनको प्रतीकका रूपमा हेरिन्छ । आज शुक्रवार केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । यसमा सभापति थापाको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ । राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो, तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमितिको हो । विश्वास गरौं, विवेक पु¥याइने छ, राजीनामा स्वीकृत गरिने छैन ।

गत २७ देखि ३० पुससम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।