काठमाडौं ।
रवि लामिछानेले आफ्ना पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन आग्रह गर्नुभएको छ । ललितपुरको ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आकस्मिक अवस्थाबाहेक निजी अस्पतालभन्दा सरकारी अस्पताललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ‘सक्नुहुन्छ भने सरकारी अस्पतालमै उपचार गराउनुस्, म यसलाई बाध्यकारी भन्दिनँ, तर यसले जनताको अवस्था बुझ्न मद्दत गर्छ’ –उहाँले भन्न्ुभयो ।
उहाँले सरकारी स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि नेतृत्व तहबाटै व्यावहारिक उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभयो । ‘जनताका छोराछोरीले भोग्ने समस्या तपाईंहरूले महसुस गर्नुपर्छ । अस्पताल जाँदा सोर्सफोर्सबिना बेड पाउने व्यवस्था हुनुपर्छ’ –उहाँले जोड दिनुभयो ।
लामिछानेले सांसदहरूलाई जनताको जीवनस्तर, सेवा पहुँच र स्वास्थ्य सेवामा रहेका कठिनाइ प्रत्यक्ष अनुभव गर्न यस्तो अभ्यास आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका अव्यवस्था र पहुँच असमानता अन्त्य गर्न नीति र व्यवहार दुवैमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उहाँले पार्टीभित्र विविध पृष्ठभूमिका व्यक्तिहरू रहेको उल्लेख गर्दै जिम्मेवारीप्रति गम्भीर हुन सांसदहरूलाई आग्रह गर्नुभयो । ‘रास्वपा स्थापना भएको चार वर्ष पनि भएको छैन, तर जनताले ठूलो विश्वास दिएका छन् । यसलाई ध्यानमा राखेर काम गर्नुस्’ –उहाँले भन्नुभयो । साथै, उहाँले सरकारमा सहभागी हुने वा नहुने विषयमा पार्टीले अझै निर्णय नगरेको स्पष्ट पार्नुभयो । यस विषयमा बाहिर अनावश्यक टिप्पणी नगर्न पनि उहाँले सांसदहरूलाई निर्देशन दिनुभयो ।
लामिछानेले पार्टीभित्र एकता र अनुशासन कायम राख्नुपर्नेमा जोड दिँदै व्यक्तिगत छवि वा पृष्ठभूमिभन्दा सामूहिक लक्ष्य महत्वपूर्ण हुने बताउनुभयो । ‘संख्या घट्ला वा बढ्ला भन्ने चिन्ता नगरी जनताको काममा केन्द्रित हुनुस्’ –उहाँले भन्नुभयो ।
उहाँको भनाइले सार्वजनिक सेवा सुधारमा नेतृत्व तहको भूमिकालाई पुनः चर्चा गराएको छ । विशेषगरी स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माता स्वयंले सरकारी सेवा प्रयोग गर्नुपर्ने सन्देश उहाँले दिनुभएको छ । रास्वपाले छोटो समयमा प्राप्त गरेको जनसमर्थनलाई संस्थागत गर्न सांसदहरूको भूमिकालाई उहाँले निर्णायक बताएका छन् । जनअपेक्षा उच्च रहेको अवस्थामा सेवा प्रवाह सुधारमा प्रत्यक्ष सहभागिता आवश्यक रहेको उहाँको धारणा छ ।











प्रतिक्रिया