प्रतिनिधिसभाका समानुपातिक सूचीमा सांसदहरूलाई आज प्रमाणपत्र दिइने


काठमाडौं ।

निर्वाचन आयोगले आज बिहीबार प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ । आयोगका अनुसार १ सय १० जना समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिन लागेको हो । बिहान साढे ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइने आयोगले जनाएको छ ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २०, नेकपा (एमाले)बाट १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४–४ जना निर्वाचित भएका छन् । ६ दलबाट ११० जना सांसदहरू निर्वाचित भएका छन् ।

प्रत्यक्षतफका सांसदहरूले मतपरिणाम आएसँगै निर्वाचित भएको प्रमाणपत्र पाइसकेका छन् । आयोगले त्यसपछि निर्वाचनको प्रतिवेदन आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने छ । राष्ट्रपति कार्यालयले सोको जानकारी संघीय संसद्को सचिवालयलाई जानकारी गराउनेछ । नवनिर्वाचित सांसदहरूको शपथ भने चैत १२ गते हुने भएको छ । सचिवालय भोलि शुक्रवार शपथ ग्रहणसम्बन्धी सूचना निकाल्ने तयारी अघि बढाएको छ । यस विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने पनि सचिवालयले जनाएको छ ।

यसअघि संसद्का ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । निर्वाचित सांसदहरूमध्ये नेपाली कांग्रेसबाट समानुपातिकतर्फका निर्वाचित सांसद अर्र्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेको बुुझिएको छ । उहाँ ७८ वर्षको हुनुहुन्छ । उहाँले बाँकी सांसद्हरूलाई शपथग्रहण गराउनुहुनेछ ।

शपथसम्बन्धी ऐन २०७९ शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक पोसाकमा उपस्थित हुनुपर्ने प्रावधान छ ।

सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोसाकमा उपस्थित हुनुपर्ने भनिएको छ । सोही दफाको उपधारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान पनि छ ।

‘दफा ५ मा शपथको भाषासम्बन्धी प्रावधानमा शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा गरी कामकाजक लिनु वा गराउनुपर्नेछ । यसका साथै कुनै सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने प्रावधान पनि सँगै छ ।

त्यसरी मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लिखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैंले प्रमाणित गरी शपथ गराउने पदाधिकारीसमक्ष शपथ लिनुअगावै पेस गर्नुपर्नेछ’ –दफा ५ को उपदफा २ मा भनिएको छ ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रतिमा र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था पनि छ ।