ललितपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई आगामी पाँच वर्षलाई सामान्य चुनावपछिको अवस्था ठानेर अघि बढे अप्ठ्यारो परिस्थिति सिर्जना हुनतर्फ सचेत गराउँदै वर्तमान जनादेशलाई परिवर्तनका लागि काँचुली फेर्ने अवसरका रूपमा लिनुपर्ने खाँचो औंल्याएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी १ सय ८२ सिट जितेको सो पार्टीले आफ्नो सांसदहरूका लागि ललितपुरको ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममा सो खाँचो औंल्याइएको हो । नेपाली जनताले स्पष्ट र लगभग दुईतिहाइ बहुमत दिएकाले अब बहानाको ठाउँ नरहेको उल्लेख गर्दै सो पार्टीका सभापति रवि लामिछानले भन्नुभयो– ‘अब केको बाधा ? हामीलाई अब केले अड्काउँछ । अब हामीलाई अड्काउने भनेको हाम्रो नियतले मात्रै हो ।’ जनताको विश्वासलाई कार्यान्वयनमार्फत प्रमाणित गर्नुपर्नेमा सभापति लामिछानेको मुख्य जोड रह्यो ।
‘राजनीति यसै गरी चल्छ भनेर कहीँकतै मानिसहरू त्यही ढंगले दौडधुप पनि मैले गरेको पनि देखिरहेको छु । राजनीति त्यसै गरी चल्नेवाला छैन । कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन’ –उहाँले भन्नुभयो । नेतृत्वले आफूहरू एउटा चुनावका लागिमात्र नभई पुस्तौंका लागि संघर्ष गरेको उल्लेख गर्दै सभापति लामिछानेले भन्नुभयो– ‘हामीले नागरिकसँग परिवर्तनको करार गरेका छौं ।
काँचुली फेर्ने वाचा गरेका छौं । त्यो करार अक्षरशः पूरा गर्नुपर्छ । आगामी चुनावमा जितहारभन्दा पनि ठूलो कुरो आगामी पुस्ताले हार्नु हुँदैन ।’
संविधानको विशेषताका रूपमा रहेको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीजस्ता आधारभूत व्यवस्थाप्रतिको सो पार्टीको प्रतिबद्धतालाई लिएर गरिएको विभिन्न शंका र उपशंकालाई लक्षित गर्दै सभापति लामिछानलेले त्यस्तो आशंका नराख्न आग्रह गर्नुभयो ।
‘मुलुक नयाँ मान्छेहरूको हातमा गयो, कही अप्ठ्यारोमा पर्छ कि, लोकतन्त्र पो खतरामा पर्छ कि, कहीँ कतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शंका, भ्रम वा आशंकाहरू कहीँकतै भएको छ, म सबै चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ’ –यद्यपि, संविधानको शासकीय स्वरूपमा परिर्वतनको आवश्यकता रहेको उहाँको भनाइ रहेको छ ।
नेपाली जनताले अहिलेसम्म कसैलाई नगरेको विश्वास रास्वपालाई गरेकाले यसको महत्व बुझ्न सांसदहरूलाई निर्देशन दिँदैै उहाँले भन्नुभयो– ‘मन्त्री बन्ने दौडमा सामेल नहुनुहोला । स्वार्थ समूहहरूले विभिन्न बहानामा प्रभावित पार्न गर्ने कोसिसप्रति सतर्क हुनुपर्दछ । रमाइलो वा उत्सवको अनुभूति नराख्न होला । मन्त्री बन्ने दौडधुप र मिडिया ट्रायल बन्द गर्नुहोला । याद राख्नुहोला, कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुट्को पानी खानुभन्दा अगाडि सहिदकी आमालाई सम्झिनुहोला । आफ्नो छोरो चढाएर संसद् छिरेकी छिन् सहिदकी आमा । यो सामान्य कुरा होइन ।’
निर्वाचनअघि निकै आक्रमण र उत्तेजात्मक तवरमा बोल्दै आएका सभापति लामिछानले अभिमुखीकरण कार्यक्रममा निर्वाचनपछिको जिम्मेवारी बोध गर्दै सम्बोधन गर्नुभएको थियो । सभापति लामिछानेले कांग्रेस, एमाले र माओवादीको नाम नलिई इतिहासमा ती पार्टीले गरेका गौरवपूर्ण योगदानका लागि धन्यवाद दिँदै आफूहरूले इतिहासको योगदानलाई धन्यवाद दिने अनि भविष्यको जिम्मेवारी चाहिँ रास्वपाले लिने बताउनुभयो ।
अभिमुखीकरणको दोस्रो दिन पनि पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) साह सहभागी हुनुभएन । वरिष्ठ नेता साह स्वास्थ्यका कारण कार्यक्रममा सहभागी नभएको सो पार्टीले जनाएको छ । सो कार्यक्रममा साहको नामै लेखेर सिट रिजर्भेसन गरिएको थियो ।
सांसदहरूलाई यसरी पढाइयो
कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे प्रशिक्षण दिइएको थियो । साथै पार्टीले अवलम्बन गर्नुपर्ने नीति तथा रणनीतिबारे पनि आवश्यक जानकरी दिइएको छ ।
रास्वपाका अनुसार यस अभिमुखीकरणले नयाँ तथा पुराना सांसदहरूलाई संसदीय कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट कुल १ सय ८२ सिट जितेको थियो ।











प्रतिक्रिया