काठमाडौं ।
नयाँ राजनीतिक विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मन्त्री पदका लागि सुरु भएको तीव्र दौडधुपले पार्टीको ‘नयाँपन’माथि नै प्रश्न उठ्न थालेको छ । सरकार गठनको तयारी तीव्र भइरहेका बेला रास्वपाका दर्जनौं सांसदहरू मन्त्री बन्ने होडमा खुलेआम लबिङमा लागेपछि पार्टीभित्र असन्तुष्टि र गुटबन्दीको संकेत देखिएको छ ।
प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सांसद निर्वाचित भएको रास्वपामा अहिले ‘को मन्त्री बन्ने’ भन्ने प्रतिस्पर्धा चर्किएको छ । उच्च तहका नेतासँग भेटघाट, आन्तरिक दबाब र मिडिया प्रयोगमार्फत आफूलाई अघि सार्ने प्रयास तीव्र बन्दै गएको स्रोत बताउँछ । विश्लेषकहरू भन्छन्– ‘रास्वपाले पुराना दलको विकल्प दिने दाबी गरे पनि व्यवहारमा भने उसका अधिकांश सांसदहरूमा पुरानै दलकै जस्तो ‘मन्त्री मोह’ देखिन थालेको छ ।’
यही प्रवृत्तिले पार्टीभित्रै असन्तुलन ल्याउन थालेपछि सभापति रवि लामिछाने बुधबार सांसद अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्यमै कडा असन्तुष्टि जनाउनुभयो । लामिछानेले स्पष्ट शब्दमा भन्नुभयो– ‘मन्त्री बन्नकै लागि मिडिया ट्रायल गर्ने, नाम चलाउने र दबाब सिर्जना गर्ने काम तुरुन्त बन्द हुनुपर्छ ।
’ लामिछानेले कसलाई मन्त्री बनाउने भन्ने कुनै औपचारिक निर्णय नभएको अवस्थामा सञ्चारमाध्यममा नाम उछाल्नु ‘पुराना दलकै शैली’ भएको भन्दै कडा आलोचना गर्नुभयो । ‘रास्वपाका १८२ सांसदको क्षमता पार्टीलाई थाहा छ, दौडधुप गरेर मन्त्री पाइँदैन, त्यसैले अहिले नै त्यस्तो खेल र सटर बन्द गर्नुस्’ – लामिछानेले आफ्ना सबै सांसदहरूलाई निर्देशन दिँदै भन्नुभयो ।
रास्वपा स्रोतका अनुसार, पार्टीभित्र ‘रवि–क्याम्प’ र ‘बालेन–क्याम्प’ को चर्चा सुरु भइसकेको छ । मन्त्री छनोटमा दुवै पक्षका व्यक्तिलाई समेट्ने गरी ‘कित्ताकाट’ हुने सम्भावना रहेको बताइन्छ । अर्कोतर्फ, पार्टीको वाचापत्रमा बाहिरबाट विज्ञ ल्याउने प्रतिबद्धता रहे पनि अहिले अधिकांश सांसद भने ‘हामी नै योग्य’ भन्ने दबाबमा देखिन्छन् । यसले पार्टीभित्र दुई धार स्पष्ट बनाएको छ– बाहिरका विज्ञ ल्याउने पक्ष र निर्वाचित सांसद नै मन्त्री बन्नुपर्छ भन्ने
अर्को पक्ष ।
दुई पक्षबीचमा समेत बेमेल हुन सक्ने स्रोतको दाबी छ । मन्त्री छनोटको अधिकार कसको भन्ने विषयमा शीर्ष नेतृत्वमै मतभेद देखिन थालेको स्रोतको दाबी छ । बालेन पक्षले बालेन प्रधानमन्त्री भएपछि आफ्नो टिम आफैं छान्न पाउनुपर्छ भन्ने अडान राख्न सक्ने देखिन्छ भने रवि तथा मूल नेतृत्व भने सूची पार्टीले तय गर्नुपर्छ भन्ने पक्षमा छ । यो विवाद समाधान नभए मन्त्री छनोट नै ठूलो राजनीतिक संघर्ष बन्न सक्ने आँकलन गरिएको छ ।
रास्वपाले चुनावमा दिएको ‘स्वच्छ राजनीति’ को नारा अहिले आफ्नै व्यवहारले चुनौतीमा परेको देखिन्छ । मन्त्री बन्ने लबिङ, मिडिया ट्रायल र गुटबन्दीको संकेतले पार्टीको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । रास्वपा पुराना दलको बाटो समात्छ कि साँच्चिकै नयाँ मापदण्ड स्थापित गर्छ भन्नेबारेको प्रश्नको जवाफ रास्वपाले कसरी दिन्छ त्यो भने मन्त्री छनोटपछि नै थाहा हुने विश्लेषण गरिएको छ ।
१८२ आकांक्षी, १८ मात्रै मन्त्री !
भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढिरहनुभएका बालेन्द्र शाह (बालेन) ले मन्त्रालय संख्या घटाएर अधिकतम १८ मा सीमित गर्ने योजना बनाउनुभएको बताइन्छ । हालको २१ मन्त्रालय घटाउने तयारीले ‘मन्त्रीको कुर्सी’ झन् सीमित हुने निश्चित छ । यसका कारण १८२ सांसदमध्ये १८ जनामात्रै मन्त्री बन्नेछन् भने राज्यमन्त्री कसैलाई पनि नबनाउने रणनीति अख्तियार गरिएको जनाइएको छ । त्यसैले गर्दा पनि मन्त्री छनोटलगत्तै बाँकी ठूलो समूह असन्तुष्ट हुने सम्भावना बढेको छ ।

रास्वपाका १८२ सांसदको क्षमता पार्टीलाई थाहा छ, दौडधुप गरेर मन्त्री पाइँदैन, गुटबन्दी गरेर मन्त्री पाइँदैन त्यसैले अहिले नै त्यस्तो खेल र सटर बन्द गर्नुस् ।
रवि लामिछाने
सभापति रास्वपा











प्रतिक्रिया