बागलुङम जीप दुर्घटना हुँदा चालकसहित सात जना घाइते


काठमाडौँ।

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।

बुधबार गलकोटबाट बागलुङ बजारतर्फ जादै गरेको लु ३ च ५१५० नम्बरको जीप मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका –४ रात्माटामा दुर्घटनामा परेको हो ।

गति तीव्र गुडेको जिप अनियन्त्रित भइ सडकको बायाँतर्फको नालीमा पल्टिँदा चालक गलकोट नगरपालिका –३ का २५ वर्षीय यादव खत्रीसहित ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते चालक खत्रीको दाहिने हात, गलकोट नगरपालिका –९ टिमुरबोटका ५६ वर्षीय देवबहादुर केसीको टाउको र दाहिने हात, गलकोट नगरपालिका –३ हटियाकी ७३ वर्षीया दिलकुमारी सहनीको घाँटी र दाहिने हात, गलकोट नगरपालिका–४ डाँडाखेतकी २६ वर्षीया सारदा खत्रीको टाउकोमा सामान्य चोट लागेको छ ।

यस्तै, गलकोट नगरपालिका –७ बामियाँका २४ वर्षीय रोशन थापाको टाउको र बाँया हात, गलकोट नगरपालिका –३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनीको घाँटी र गलकोट नगरपालिका–३ हटियाका २२ वर्षीय करण सहनीको नाकमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।

घाइतेको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।