सरकारी अस्पतालमै उपचार गर्न सांसदलाई लामिछानेको आग्रह


काठमाडौँ। 

रवि लामिछानेले आफ्ना पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन आग्रह गरेका छन्। ललितपुरको ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आकस्मिक अवस्थाबाहेक निजी अस्पतालभन्दा सरकारी अस्पताललाई प्राथमिकता दिनुपर्ने बताए। “सक्नुहुन्छ भने सरकारी अस्पतालमै उपचार गराउनुस्, म यसलाई बाध्यकारी भन्दिनँ, तर यसले जनताको अवस्था बुझ्न मद्दत गर्छ,” उनले भने। 

उनले सरकारी स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि नेतृत्व तहबाटै व्यवहारिक उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखे। “जनताको छोराछोरीले भोग्ने समस्या तपाईंहरूले महसुस गर्नुपर्छ। अस्पताल जाँदा सोर्स–फोर्स बिना बेड पाउने व्यवस्था हुनुपर्छ,” उनले जोड दिए। 

लामिछानेले सांसदहरूलाई जनताको जीवनस्तर, सेवा पहुँच र स्वास्थ्य सेवामा रहेका कठिनाइ प्रत्यक्ष अनुभव गर्न यस्तो अभ्यास आवश्यक रहेको बताए। उनले स्वास्थ्य क्षेत्रमा देखिएका अव्यवस्था र पहुँच असमानता अन्त्य गर्न नीति र व्यवहार दुबैमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा उनले पार्टीभित्र विविध पृष्ठभूमिका व्यक्तिहरू रहेको उल्लेख गर्दै जिम्मेवारीप्रति गम्भीर हुन सांसदहरूलाई आग्रह गरे। “रास्वपा स्थापना भएको चार वर्ष पनि भएको छैन, तर जनताले ठूलो विश्वास दिएका छन्। यसलाई ध्यानमा राखेर काम गर्नुस्,” उनले भने।

साथै, उनले सरकारमा सहभागी हुने वा नहुने विषयमा पार्टीले अझै निर्णय नगरेको स्पष्ट पारे। यस विषयमा बाहिर अनावश्यक टिप्पणी नगर्न पनि उनले सांसदहरूलाई निर्देशन दिए।

लामिछानेले पार्टीभित्र एकता र अनुशासन कायम राख्नुपर्नेमा जोड दिँदै व्यक्तिगत छवि वा पृष्ठभूमिभन्दा सामूहिक लक्ष्य महत्वपूर्ण हुने बताए। “संख्या घट्ला वा बढ्ला भन्ने चिन्ता नगरी जनताको काममा केन्द्रित हुनुस्,” उनले भने।

उनको भनाइले सार्वजनिक सेवा सुधारमा नेतृत्व तहको भूमिकालाई पुनः चर्चा गराएको छ। विशेषगरी स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माता स्वयंले सरकारी सेवा प्रयोग गर्नुपर्ने सन्देश उनले दिएका छन्।

रास्वपाले छोटो समयमा प्राप्त गरेको जनसमर्थनलाई संस्थागत गर्न सांसदहरूको भूमिकालाई उनले निर्णायक बताएका छन्। जनअपेक्षा उच्च रहेको अवस्थामा सेवा प्रवाह सुधारमा प्रत्यक्ष सहभागिता आवश्यक रहेको उनको धारणा छ।