एनआरएनएको प्रवक्तामा सोम सापकोटा चयन


गैरआवासीय नेपाली संघ ९एनआरएनए० को प्रवक्तामा सोम सापकोटा चयन भएका छन्। संघको १२औँ महाधिवेशनबाट उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। यसअघि सम्पन्न ११औँ महाधिवेशनमा सापकोटा उपमहासचिव पदमा निर्वाचित भई संगठनमा सक्रिय भूमिका निर्वाह गरिसकेका छन्।

चितवनका स्थायी बासिन्दा सापकोटा लामो समयदेखि वैदेशिक रोजगारी र व्यावसायिक क्षेत्रमा संलग्न रहँदै आएका व्यक्ति हुन्। सन् १९९६ देखि रोजगारीका सिलसिलामा विभिन्न देशको अनुभव बटुलेका उनले सन् २०१७ देखि बेलायतलाई आफ्नो व्यावसायिक केन्द्र बनाउँदै आएका छन्। विदेशमा बसोबास गरे पनि उनले नेपालसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउँदै आएका छन्।

हाल सापकोटा नेपालमा उत्पादन भएका तथा तयार पारिएका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने कार्यमा सक्रिय छन्। नेपाली उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्दै देशको आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित उनी विभिन्न व्यापारिक गतिविधिमा संलग्न रहेका छन्।

हस्पिटालिटी क्षेत्रमा समेत उनको उल्लेखनीय लगानी रहेको छ। उनले एकल तथा सामूहिक लगानीमार्फत विभिन्न परियोजना अघि बढाएका छन्। विशेषगरी पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघौलीमा रिसोर्ट निर्माण कार्य अगाडि बढाउँदै उनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा योगदान गर्ने लक्ष्य लिएका छन्।

सापकोटाको नयाँ जिम्मेवारीसँगै एनआरएनए भित्र संगठनात्मक सुदृढीकरण, विदेशमा रहेका नेपालीहरूको हक–हित संरक्षण तथा नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउने दिशामा उनको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ। साथै, उनले विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप र लगानीलाई नेपाल भित्र्याउन पहल गर्ने विश्वाससमेत गरिएको छ।