काठमाडौं ।
चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूले कुल ३८ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्म २० वाणिज्य बैंकहरूको कुल खुद नाफा ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कुल नाफा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ रहेको थियो । यस आधारमा बैंकहरूको नाफा वार्षिक आधारमा ५.४० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
तथ्यांकअनुसार यस अवधिमा २० मध्ये १० बैंकको नाफा बढेको छ भने बाँकी १० बैंकको नाफामा गिरावट आएको छ । नाफाको हिसाबले सबैभन्दा अगाडि नबिल बैंक देखिएको छ भने नाफा वृद्धिको दरका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । नबिल बैंकले माघसम्म ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ नाफा कमाउँदै वाणिज्य बैंकहरूबीच अग्रता कायम राखेको छ ।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, कुमारी बैंकले ३ अर्ब १७ करोड ५१ लाख रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थान हासिल गरेको छ । यस अवधिमा एभरेष्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब ३९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड रुपैयाँ तथा एनएमबी बैंकले २ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड रुपैयाँ, नेपाल बैंकले १ अर्ब ८५ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ र सिद्धार्थ बैंकले १ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका छन् ।
नाफा वृद्धिको दरका हिसाबले भने कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ । कुमारी बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ३२९.८६ प्रतिशतले बढेको हो । गत वर्ष माघसम्म ७३ करोड ८६ लाख रुपैयाँ नाफा गरेको बैंकले यस वर्ष सोही अवधिमा ३ अर्ब १७ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । त्यस्तै सिद्धार्थ बैंकको नाफा ९९.५७ प्रतिशतले बढेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा ५२.४६ प्रतिशत, नबिल बैंकको ३४ प्रतिशत, माछापुच्छ«े बैंकको २८.६३ प्रतिशत, सानिमा बैंकको २६ प्रतिशत तथा नेपाल एसआईबी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकको नाफामा पनि वृद्धि भएको छ । ग्लोबल आइएमई बैंकको नाफा पनि ६.६२ प्रतिशतले बढेको छ । यद्यपि समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि केही बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । लक्ष्मी सनराइज बैंकको नाफा सबैभन्दा धेरै ८४.७३ प्रतिशतले घटेर २४ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३६.१८ प्रतिशत, सिटिजन्स बैंकको ३६.०९ प्रतिशत, प्रभु बैंकको २५.६६ प्रतिशत तथा नेपाल बैंकको २४.४० प्रतिशतले घटेको छ । एभरेष्ट बैंक र एनआईसी एसिया बैंकको नाफामा पनि केही कमी देखिएको छ । बैंकरहरूका अनुसार ब्याज आम्दानीमा सुधार र खराब कर्जाको व्यवस्थापनले केही बैंकहरूको नाफा बढाउन सहयोग गरेको छ । तर अर्थतन्त्र पूर्ण रूपमा चलायमान नहुँदा केही बैंकहरूले सम्भावित नोक्सानीका लागि बढी रकम प्रोभिजनिङमा छुट्याउनुपरेकाले नाफामा दबाब परेको बताइएको छ ।











प्रतिक्रिया