बढ्दो सडक दुर्घटना र रोकथामको सवाल

470
Shares

देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी थुप्रै नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ अङ्गभङ्ग भई उपचाररत छन् । एक महिनाभित्र भएका तीनवटा बस दुर्घटनामा परी ४६ जना नागरिकको मृत्यु भएको छ भने ६८ घाइते भएका छन् ।

गत फागुन १० गते राति पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबस पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटमा दुर्घटना भई त्रिशूली किनारमा खस्दा तीन विदेशीसहित १९ जनाको निधन भएको थियो भने २५ घाइते भएका थिए । यसअघि माघ २७ मा रामेछापमा भएको यात्रुवाहक बस दुर्घटनामा १४ जनाको मृत्यु र आठ घाइते भएका थिए । त्यस्तै माघ २२ गते बैतडीमा जन्ती बोकेको गाडी दुर्घटनामा परी १३ नागरिकको मृत्यु र ३५ जना घाइते भएका थिए । रामेछाप दुर्घटनामा परेका एक यात्रु अझै बेपत्ता भएका छन् । यी तीनवटा सडक दुर्घटना ठुला दुर्घटना हुन् । अहिले पनि दिनहुँ छिटफुट सडक दुर्घटना भई नै रहेका छन् ।

हालै भएका यी घटनालाई सूक्ष्मरूपले नियाल्ने हो भने, सडकको दुरवस्था, यान्त्रिक गडबडी, सवारीचालकबीच हुने अस्वस्थ प्रतिस्पर्धा, लामो दूरीमा गुड्ने सवारीसाधनमा दुईजना चालकको व्यवस्था नहुनु, ट्राफिक नियम पालना नहुनु, मौसममा आउने परिवर्तन, मादक पदार्थ सेवन अर्थात् लागूपदार्थ सेवन गरी सवारी चलाउनु र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुने गरेका छन् ।

प्रहरीको पछिल्लो विवरणअनुसार यस आर्थिक वर्षको माघसम्म १९ हजार ३ सय ५ दुर्घटनामा १ हजार ५ सय ४५ नागरिकको ज्यान गएको छ । ४ हजार ८ सय ७१ गम्भीर घाइते र २५ हजार ३ सय ५७ सामान्य घाइते भएको तथ्यांक रहेको छ । बढीजसो सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेको ट्राफिक कार्यालयले बताए तापनि वास्तविक रुपमा हेर्ने हो भने नेपालजस्तो भूपरिवेष्टित देशमा सडकको दुरवस्था र यान्त्रिक गडबडी नै प्रमुखरुपमा रहेको देखिन्छ ।

अर्कातिर ट्राफिक नियमको पालना नगर्नु र तीव्ररुपमा सवारीसाधन चलाउनु पनि दुर्घटनाको कारण रहेको छ । हालै भएका सडक दुर्घटना नियाल्दा बढीजसो तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने तथ्य बाहिरिएको छ । सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखेर चालकले तीव्र गतिमा सवारी चलाउँदा सवारीसाधनको नियन्त्रण गुम्न गई सडक दुर्घटना भएको देखिन्छ ।

लेन अनुशासन पालना नगर्नु, पर्याप्त मात्रामा सडक संकेत नहुनु, जथाभावी विनाइन्जिनियरिङ सडकहरु खोलिनु पनि दुर्घटनाका कारण हुन् । यस्तो बढ्दो सडक दुर्घटनाले पैदल यात्रु, सडक प्रयोगकर्ता र सडकमैत्री बनाउने अभियानमा लागेका सबैलाई चुनौती थपिदिएको छ । अर्कोतर्फ दुर्घटना भइसकेपछि मात्रै सरकारी निकाय र सरोकारवालाहरु बिउँझने र अरु बेला निदाउने परिपाटीले गर्दा सडक दुर्घटनामा कमी आउन सकेको छैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

तिनै तहका सरकारहरुले सडकको नाममा उपभोक्ता र यात्रुहरुसँग कर उठाउने तर वर्षौंसम्म पनि सडकको स्तरोन्नति नगर्नु कहाँसम्मको न्यायसंगत हुन सक्छ ? ठेकेदारहरुका लापरबाहीका कारण ठेक्का पाएका सडक र पुलहरु वर्षौंसम्म नबन्नुमा कसको दोष हो ? सडक र पुलका नाममा दुःख दिनेहरुलाई हदैसम्मको कानुनी कारबाही कहिले गर्ने हो ? सडक निर्माणका लागि म्याद थपेको थपियै किन गरिन्छ ? यसको जवाफ सम्बन्धित निकायले दिनुपर्दछ ।

अहिले पनि देशैभरिका सडकको अवस्था दयनीय बन्न पुगेको छ । सडक निर्माणकै लागि भनेर महिनौं सडक बन्द गरिन्छ । त्यसपछि सडक खुलेको केही महिनामै सडक फेरि बेहाल बन्ने परिपाटी अन्त्यका लागि गुणस्तरीय काम हुनुपर्ने आवश्यकता छ । राजधानीलगायतका मुख्य शहरहरुमा समेत सडक व्यवस्थित रुपमा निर्माण हुन नसक्दा ढलसमेत सडकमै बग्ने र यातायात अवरुद्ध हुने समस्या बढ्न थालेका छन् । सडकको बीचमा भ्वाङ पर्ने, सडकमै पानी बग्ने समस्या दोहोरिरहेका छन् ।

सडक दुर्घटना न्यूनीकरणका लागि चालक आफैँ सचेत, अनुशासित हुनुका साथै सवारीसाधनको अवस्थासमेत राम्रो हुनुपर्ने देखिन्छ । तीव्र गति, मदिरा सेवन र ट्राफिक नियम उल्लंघन गरी जथाभावी सवारी चलाउँदा अकालमै नागरिकले मृत्युवरण गर्न बाध्य पारिएको छ ।

सरकारले सडकसम्बन्धी ठोस कानुन कार्यान्वयनमा कडाइ, समयमै सडक मर्मत, सवारी चालक अनुमतिपत्र दिँदा तालिमलगायतका विषयहरुमा ध्यान दिनु आवश्यक रहेको देखिन्छ । सडक दुर्घटना हुने एउटा कारण पशु चौपाया पनि हो । मुख्य राजमार्गहरुमा जथाभावी पशु चौपाया छोडेका कारण र वर्षौंदेखि राखिएका ट्राफिक संकेत चिह्नहरु नबल्दा थप दुर्घटना बढेको अवश्य हो । राजधानीको कुरा गर्दा चक्रपथ विस्तार गरी सडक चौडा भएको वर्षौं बितिसक्दा पनि पर्याप्त मात्रामा ट्राफिक चिह्नहरु नभएका कारण दिनहुँजसो दुर्घटना हुने गरेको छ ।

राजधानी काठमाडौंका सडकहरुमा सडक दुरवस्था भएकै कारण दिनदिनै सवारी दुर्घटना हुने क्रम बढ्दै गइरहेको छ । विशेष गरी बिहान र बेलुका चक्रपथबाहिरका साना–ठूला सडकहरुमा ठूला–ठूला ट्रिपरहरु चलाइनाले सडक बिग्रँदै गैरहेको छ भने उपत्यका भित्रिने राजमार्गहरुमा क्षमताभन्दा बढीका सामान आयात–निर्यात हुँदा सडक र पुलहरु कमजोर हुँदै गइरहेका छन् ।

सरकारले सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि समय–समयमा अनेक नीति–नियम र प्रतिवेदनहरु सार्वजनिक गर्ने गर्दछ तर ती व्यवहारमा कति हदसम्म लागू भए÷भएनन् भनेर मूल्यांकन गर्न सकिरहेको छैन । सडक चौडा र फराकिलो हुनेबित्तिकै सवारी दुर्घटना कम हुने होइन । जबसम्म आम सवारी चालक, पै्रदल यात्रुहरुबीच जनचेतना जागृत हुँदैन, तबसमम दुर्घटना घट्न सक्दैन । सडक विस्तारको क्रममा सडकमै रहेको बिजुली र टेलिफोनका पोल र यत्रतत्र छरिएका तारहरुले वातावरण बिगारिरहेका छन् । यसले गर्दा पनि दुर्घटना निम्तिने गरेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।

काठमाडौंलगायत मुलुकका विभिन्न शहरमा ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक चिह्नहरु र जेब्राक्रसहरुको व्यवस्थाका अलावा पर्याप्त पार्किङको व्यवस्था, लेन अनुशासनको पालना, सफा र व्यवस्थित सडक, यात्रुहरुका लागि यात्रु प्रतीक्षालय र समयानुकूल ट्राफिक नियम हुनुपर्दछ । मुलुकका विभिन्न मुख्य शहरहरुमा बाटो विस्तार गरी चौडा बनाइए तापनि जथाभावी मोटर, मोटरसाइकल पार्किङ र अव्यवस्थित फुटपाथका कारण पनि सडक दुर्घटना भइरहेका छन् ।

यस्ता कार्य तुरुन्तै रोक्नुपर्दछ । सडक फराकिलो भएकै कारण भक्तपुर–कोटेश्वर सडक खण्डमा दिनहुँ दुर्घटना भई थुप्रै नागरिकले ज्यान गुमाइसकेका छन् । केही हप्ताअघि बनेपामा ट्रिपरको ठक्करबाट एकजना स्कुटर चालकको निधन भएको थियो । तीव्र गतिका कारण दुर्घटना भएको देखिन्छ । यस्ता घटना दोहोरिन नदिन सबै सचेत र सतर्क हुनुपर्ने देखिन्छ ।

ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई लिइएको छ । चालकको लापरबाहीका कारण ६७ प्रतिशत, यात्रुको गल्तीले ४ प्रतिशत, ओभरटेकबाट ४ प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबडीका कारण ४ प्रतिशत र अन्य कारणहरुमा ६ प्रतिशत रहेका छन् ।

सडक दुर्घटना हुने अन्य प्रमुख कारणहरुमा ट्राफिक नियम कार्यान्वयन नगर्नु, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय कारण, मौसम तथा अन्य विभिन्न कारणहरु रहेका छन् । सवारी चलाउँदा मादक पदार्थ सेवन नगर्ने, चालकले आफ्नो व्यवहार सुधार गर्ने, सवारीसाधनलाई समय–समयमा मर्मत–सम्भार गरी चुस्त–दुरुस्त अवस्थामा राख्न सकिएको खण्डमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । सडकहरु सुधार्ने, मर्मतसम्भार गर्ने, यात्रु तथा पैदल यात्रुहरु सचेत हुने र ट्राफिक नियम पालना गर्न सकिएको खण्डमा सडक दुर्घटनालाई केही हद भए पनि न्यूनीकरण गर्न सकिन्छ ।

नेपालमा सवारी दुर्घटना बढ्नुको थपा कारणमा थोत्रा सवारीसाधन चलाउनु, दशकौंदेखि सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, सडकछेउछाउमा बनाइएका अव्यवस्थित भौतिक संरचनाहरु आदि रहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, तनाव, मोबाइलको प्रयोग, छारेरोग र अनुभव नभएका चालकहरुका कारण पनि दुर्घटना बढेको छ ।

यस्ता प्रवृत्ति रोक्नका लागि सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । सरकारले राजमार्गहरुमा ट्राफिकको लाइन र यु–टर्नहरु बनाइदिनुपर्दछ । त्यस्तै गरी जनचेतना दिने खालका होर्डिङ बोर्डहरु राख्नुपर्दछ । चालकहरुले पनि मापसे नगरी, ट्राफिक नियमको पालना गरी, आफ्नो सवारीसाधन चेक गरी, बिग्रेको भए मर्मत गरी होसियारी र सावधानीपूर्वक चलाउनुपर्दछ ।

राजमार्गलगायत राजधानीका सडकहरुमा जथाभावी चौपाया छोड््नेहरुलाई कडा कारबाही गरिनुपर्दछ । त्यस्तै सडक अवरुद्घ हुने गरी सभा, सम्मेलन, धर्ना दिने कार्यक्रम राख्नुहुँदैन । फुटपाथ पसलहरु हटाइनुपर्दछ । ट्राफिक चिह्नहरु पर्याप्त मात्रामा राख्ने, सडकमा भएका खाल्डाखुल्डी समयमै पुर्ने व्यवस्था गर्न सकिएको खण्डमा पनि केही हदसम्म सडक दुर्घटना न्यूनीकरण हुन सक्छ । त्यस्तै गरी सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनले औंल्याएका विषयहरुलाई पनि कार्यान्वयन गरिनुपर्दछ ।
(लेखक श्रेष्ठ अधिवक्ता हुनुहुन्छ ।)