ओली परिवारलाई समवेदना प्रकट गर्न गुण्डुमा लर्को

1.69k
Shares

भक्तपुर ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा ओली परिवारपप्रति समवेदना व्यक्त गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि दलका अध्यक्ष तथा शीर्ष नेता गुण्डु पुग्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गर्न उहाँको गुण्डुस्थित निवास पुग्नुभएको छ ।

पितृशोकमा रहेका अध्यक्ष ओलीलाई भेट्दै राष्ट्रपति पौडेलले उहाँका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । यस क्रममा राष्ट्रपति पौडेलले दिवंगत मोहनप्रसादको तस्वीरमा माल्यार्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्नुभयो । राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद् घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो ।

यसै गरी आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव शोक सन्तप्त ओली परिवारसँग भेट्न, समवेदना प्रकट गर्न र ओलीका दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्न गुण्डु पुग्नुभयो । प्रधानमन्त्री सुशीला कार्कीले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । ओली निवास भक्तपुरको गुण्डु पुगेर प्रधानमन्त्री कार्कीले अध्यक्ष ओलीलाई समवेदना प्रकट गर्नुभएको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि सोमबार नै गुण्डु पुगेर नेपालले दिवंगत बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओली निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै ओलीलाई समवेदना दिनुभएको थियो ।

यसै गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमबार ओलीको निवास भक्तपुर पुग्नुभएको छ । गुण्डु पुगेर नेपालले दिवंगत बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल गुण्डु पुग्नुभयो । नेता खनालले त्यहाँ पुगेर अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता तथा आगामी प्रधानमन्त्रीका रूपमा चर्चित बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता ओलीको निधनमा श्रद्धाञ्जली दिनुभएको छ । रास्वपाका सभापति रवि लामिछानले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।