काठमाडौं ।
ललितपुर भैंसेपाटीस्थित मन्त्री निवास परिसर अहिले पनि खण्डहरप्रायः छ । अबको करिब दुई सातामा मन्त्रीमण्डल गठन भए पनि ती मन्त्रीहरू कहाँ बस्ने भन्ने टुङ्गो छैन । २७ भवनमध्ये भदौ २३ र २४ को जेन–जी आन्दोलनमा रक्षामन्त्री निवासबाहेक अन्य सबै ध्वस्त भएको थियो ।
उक्त निवासमा हाल वनमन्त्री माधवप्रसाद चौलागार्इं बसिरहनुभएको छ । त्यसअघि युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ता बस्नुभएको थियो । सरकारले करिब ३ अर्ब रुपियाँ खर्चिएर निर्माण गरेको मन्त्री निवास अहिले खण्डहर छ । मन्त्री निवासको पारीपटी रहेको प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवनसमेत पूर्ण रूपमा क्षतिग्रस्त छ । चालू आर्थिक वर्षमा मन्त्री निवासका ११ भवन पुनर्निर्माण भए पनि प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन निर्माण अनिश्चित छ ।
एक वर्षअघि भैंसेपाटीमा मन्त्री, राष्ट्रियसभा उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुख बस्ने गर्नुभएको थियो । जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको भवनबाट मन्त्री, मन्त्रीका आफन्त र सुरक्षाकर्मीलाई सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । ‘अहिले २६ वटा भवनहरू बस्नयोग्य छैनन्’ – सहरी विकास मन्त्रालय मातहत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
उहाँका अनुसार २७ मध्ये चालू आर्थिक वर्षमा ११ भवन पुननिर्माण गर्नेछौं । बाँकी १६ वटाको विषयमा नयाँ सरकारले निर्णय गर्नेछ । कार्यालयका अनुसार नयाँ सरकार आएपछि थप भवन पुनर्निर्माण गर्ने विषयमा निर्णय गर्नेछ । सरकारले भैंसेपाटीमा निर्माण गरेको भवनको प्रत्येक ब्लकमा कुन मन्त्रीनिवास हो प्रस्ट नाम उल्लेख गरेको हुन्थ्यो ।
‘११ ब्लक पुनर्निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ । ११ ब्लकको काम असार मसान्तभित्रै सक्ने गरी ठेक्का दिने तयारी छ । ११ भवनको पुनर्निर्माण गर्न करिब १५ करोड रुपियाँ लाग्ने अनुमान छ । कार्यालय प्रमुख कण्ठका अनुसार चालू आर्थिक वर्षभित्र ११ ब्लकको काम सकेर भवन प्रयोग गर्न योग्य बनाउने लक्ष्य छ । उहाँले भन्नुभयो– ‘एक दुई दिनमा बोलपत्र मूल्याङ्कन गरेर ठेक्कामा लगाउनेछांै ।’
‘संघीय सचिवालयले नयाँ मन्त्रीका लागि निवासको कसरी व्यवस्थापन गर्ने भन्ने विषय अनविज्ञ छ । आफ्नै घरमा बस्न चाहने मन्त्रीलाई सरकारले तोकेको घरभाडा दिनेछौं । डेरामा बस्ने मन्त्रीलाई सोही अनुसार बजेट व्यवस्थापन गर्ने तयारीमा छौं’ –कण्ठको भनाइ थियो । यी सबै विषय नयाँ सरकार गठन भएपछि जानकारी हुने सचिवालय प्रमुख कण्ठले बताउनुभयो । ‘सरकारले सबै मन्त्री एकै स्थानमा बस्ने गरी सामूहिक भवन खोज्ने सम्भावना पनि जीवित छ । कति सदस्यीय मन्त्रीमण्डल बन्छ, मन्त्रीज्यू कति जना हुनुहुन्छ, सोहीअनुसार योजना बनाउनुपर्ने हुन्छ’ – कण्ठले भन्नुभयो ।
उहाँले मन्त्रीमण्डल गठन भएपछि मात्र व्यवस्थापनको काम सुरु हुने जानकारी दिनुभयो । सरकारले बाटो चौडा गर्ने विषयमा स्थानीयसँग कुरा नमिल्दा एक स्थानमा कम्पाउन्ड लगाउन सकेको छैन । कम्पाउन्ड नभएकै कारण जेन–जी आन्दोलनकारी खुलाक्षेत्रबाट छिरेर तोडफोड गरेका थिए । बाटोको विषयमा देखिएको समस्या समाधान गर्न नयाँ सरकारले पहल गर्नुपर्ने कण्ठको भनाइ छ ।
उहाँले भवन बनाउँदा कस्तो समस्या थियो, अहिले किन समस्या बल्झियो भन्ने विषयमा उपल्लो तहबाट निर्णय गर्नुपर्ने बताउनुभयो । २०७६ असोज १३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवन शिलान्यास गर्नुभएको थियो ।











प्रतिक्रिया