हावाहुरीले आगो उडाउँदा दुई घरका बस्तु र अन्न जलेर नष्ट

0
Shares

नवलपरासी ।

नवलपरासी पूर्वकाे चरङ्गेमा साेमबार साँझ हावाहुरीले आगो उडाउँदा स्थानीय २ घर गाेठ,बस्तु भाउ तथा अन्नपात जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वी नवलपरासीले दिएकाे जानकारी अनुसार आगलागीमा परि मध्यबिन्दु १४ का ४३ वर्षीय कर्ण बहादुर पेमी घाईते भएका छन् । शरीरको हात,पाखुरा गरी करिब १९ प्रतिसत भाग जलेर घाईते पेमीकाे मध्यबिन्दु नगर अस्पताल चाेरमारामा उपचार भईरहेकाे छ । पेमी गाेठमा रहेका खसी लगायतका बस्तुभाउ फुकाउन जानेक्रममा आगाेकाे चपेटामा परेका हुन् ।

प्रहरीका अनुसार ७२ वर्षीय वृद्धा हरिसरा पेमीले बारी सफा गरी निस्केकाे झारपात घर देखि डेढ सय मिटर पर खाेल्सामा लगेर जलाउने क्रममा एक्कासि आएकाे हुरी आगो उडाउँदा साे आगलागिकाे घटना भएको हाे ।

आगलागीबाट हरिसराकाे २ तले टिनकाे छाना भएको घर गाेठका अन्नपात,लत्ताकपडा,२ वटा भैसी, १ हल गाेरू, ७ बाख्रा र २५ वटा कुखुरा जलेर मरेकाे प्रहरीले जनाएकाे छ ।

त्यसै गरी हरिसराकै कान्छा देवर देब बहादुर पेमीकाे १ तले फुसकाे छाना भएको घर र गाेठमा समेत आगो लाग्दा लैनाे भैंसी,पाडाे र ७ बाख्रा ८ कुखुरा जलेर मर्नुका साथै घरमा भएका धनमाल तथा अन्नपात नष्ट भएको छ ।

आगलागीका कारण प्राकृतिक बिपत्तिमा रहेका पेमी  परिवारलाई भेट्न पूर्व संघीय सांसद तिल बहादुर महत क्षेत्री सहित जनप्रतिनिधीकाे टाेली मंगलबार चरङ्गे पुगेको बताइएको छ ।