तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने


काठमाडौँ।

काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ ।

तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गि प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर चैत ४ गते (भोलि) तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव हुन लागेको हो ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर घोडेजात्रा महोत्सव गर्ने पहिलो स्थानीय तहसमेत बनेको छ ।

‘पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवलाई सफल बनाउन उपत्यकाभरका स्थानीय तहका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, नगरवासीलाई आमन्त्रण गरिएको छ ।

नगरप्रमुख महर्जनले टुँडिखेलमा मनाईँदै आइएको घोडेजात्रालाई थप विस्तार गर्नका लागि नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको बताए । “टुँडिखेलमा घोडेजात्रा पर्व हेर्न जान नसक्नेहरूका लागि यो महोत्सव फलदायी हुने विश्वास नगरपालिकाले लिएको छ,”–उनले भने ।

उक्त घोडेजात्रा महोत्सवमा घोडाको मार्चपास, हर्स जम्पलगायत टुँडिखेलमा हुने सबै प्रकारका खेल हुनेछन् । उक्त महोत्सवलाई सम्पन्न गर्नका लागि १४ वटा घोडाको प्रयोग हुने नगरप्रमुख महर्जनले बताए ।