काठमाडौं उपत्यकाको प्राचीन र जीवन्त नेवार समुदायका अनेकौं चाडपर्वहरूमध्ये ‘पाहाँ चह्रे’ एउटा विशेष सांस्कृतिक उत्सव हो । चैत्र महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिबाट सुरु हुने यो तीन दिने पर्व केवल धार्मिक अनुष्ठान मात्र होइन, सामाजिक सद्भाव, पाहुना सत्कार र परम्परागत कलाको एक अद्भुत संगम पनि हो । ‘पाहाँ’ को अर्थ नेपाल भाषामा पाहुना र ‘चह्रे’ को अर्थ चतुर्दशी हुन्छ । यसरी यो पर्वको नामले नै आफ्ना इष्टमित्र, आफन्त र साथीभाइलाई घरमा निमन्त्रणा गरी सत्कार गर्ने यसको मुख्य उद्देश्यलाई स्पष्ट पार्छ । वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वको उत्पत्ति प्रागैतिहासिक युगीन संस्कारहरूबाट भएको मानिन्छ । जुन समयमा देवताहरूलाई खुसी पारेर राम्रो फसलको कामना गरिन्थ्यो । समयक्रमसँगै यसमा हिन्दु र बौद्ध धर्मका तत्वहरू समाहित हुँदै गएर यो एक समृद्ध साझा सांस्कृतिक परम्पराका रूपमा स्थापित भएको छ ।

लुकेका महादेव अर्थात् ‘लुकु महाद्यः’ देखि तान्त्रिक नाचसम्म
पाहाँ चह्रेको पहिलो दिन अर्थात् चैत्र कृष्ण चतुर्दशीको मुख्य आकर्षण वर्षभरि लुकाएर राखिएको ‘लुकु महाद्यः’ को पूजा हो । महादेवको स्वरूप मानिने लुकु महाद्यःलाई जमिनमुनि लुकाएर राखिएको हुन्छ । यस दिन ढुंगा माटो पन्छाएर जमिनमुनि रहेको महादेवलाई पूजा गरिन्छ । पूजामा मासु र रक्सी विशेष रूपमा चढाइन्छ । साथै, यो सिजनमा फुल्ने तोरी र तरकारी फूलहरूलाई क्रमशः सुन र चाँदीको प्रतीक मानेर चढाउने परम्पराले यसको प्राचीन र मौलिकतालाई झल्काउँछ ।
सोही दिन साँझपख, काठमाडौंको नरदेवी (न्यत) क्षेत्रमा एउटा भिन्नै माहोल बन्छ । त्यहाँ ‘न्यतमरु अजिमा प्याखँ’ अर्थात् श्वेतकाली नाच प्रदर्शन गरिन्छ । यो एक तान्त्रिक मुखुण्डो नाच हो, जहाँ नर्तकहरूले विभिन्न देवीदेवताको रूप धारण गरी नृत्यको माध्यमबाट पौराणिक कथाहरू प्रस्तुत गर्छन् । यो नाच हेर्न राति अबेरसम्म मानिसहरूको ठूलो घुइँचो लाग्ने गर्छ ।
शक्तिहरूको महामिलन ‘द्यः ल्वाकेगु’
यस पर्वको दोस्रो दिनलाई ‘घोडेजात्रा’ को रूपमा पनि चिनिन्छ । यस दिनको मुख्य आकर्षण काठमाडौंको टुँडिखेलमा हुने ‘द्यः ल्वाकेगु’ (देवता जुधाउने) विधि हो । यो वास्तवमा उपत्यकाका विभिन्न अजिमा (मातृशक्ति) हरूका खटहरूको महामिलन हो । लुमधि अजिमा, कङ्ग अजिमा र तेबाहा अजिमाजस्ता देवीदेवताका खटहरूलाई बाजागाजाका साथ टुँडिखेल पु¥याइन्छ । त्यहाँ सहभागीहरूले एक–अर्कालाई जलिरहेको राँको (मसाल) साटासाट गर्छन् । यो राँको साटासाट गर्ने प्रक्रियाले देवीहरू बीचको मिलनलाई जनाउँछ । यसरी मसालको झिल्काहरू साटासाट गर्दा निस्कने ऊर्जाले भक्तजनहरूको मनमा एउटा भिन्नै उत्साह र शक्ति भर्ने गर्छ । सोही दिन नेपाली सेनाद्वारा आयोजित घोडा दौड र अन्य साहसिक प्रदर्शनहरूले उत्सवको रौनकलाई थप बढाउँछन् ।

असनमा चटामरीको वर्षा र अन्तिम जमघट
पाहाँ चह्रेको तेस्रो तथा अन्तिम दिन उत्सवको केन्द्रबिन्दु असनको व्यस्त चोक बन्न पुग्छ । त्यहाँ पुनः तीन अजिमाहरूका खटहरूको महामिलन गराइन्छ । विभिन्न टोलबाट बाजागाजासहित आएका यी खटहरू असनमा पुगेपछि पुनः ‘द्यः ल्वाकेगु’ विधि गरिन्छ । यस पटक, रातो, निलो, पहेंलो र अन्य रंगका टोपी लगाएका भक्तजनहरूले मसाल साटासाट गर्छन् ।
यो मिलनको दृश्यलाई घरका झ्याल र छतबाट हेरिरहेका मानिसहरूले खटमाथि ‘चटामरी’ (चामलको पिठोको रोटी) बर्साएर स्वागत गर्छन् । युवाहरूको उत्साह र बाजाको तालले काठमाडौँको प्राचीन सभ्यता कति जीवन्त छ भन्ने प्रमाणित गर्छ । यो दिन विशेष गरी पारिवारिक सम्बन्धमा केन्द्रित हुन्छ, जहाँ आफ्ना इष्टमित्र र आफन्तहरूलाई घरमा बोलाएर परम्परागत नेवारी परिकारहरू खुवाइन्छ ।
पाहाँ चह्रेमा खानपानको पनि विशेष भूमिका हुन्छ । परिवारहरूले बारा, वं, छोयला लगायत सिजन अनुसारका तरकारी र माछा मासुका विभिन्न परम्परागत परिकारहरू तयार गर्छन् । यस्ता खाद्य परम्पराले स्वाद मात्र दिँदैन, समुदाय र परिवारबीचको चिसिएको सम्बन्धलाईसमेत न्यानो बनाउने र पारिवारिक एकतालाई बलियो पार्ने काम गर्छ । आजको आधुनिक युगमा पनि पाहाँ चह्रेले आफ्नो मौलिकता गुमाएको छैन । यो उत्सवले काठमाडौँको इतिहास, स्थानीयको विश्वास र पाहुनालाई ‘देवता’ मान्ने नेपाली संस्कारलाई विश्वसामु चिनाइरहेको छ ।
जात्रा, शक्ति उपासना र मिठा परिकारको यो त्रिवेणीले नै उपत्यकाको माटोलाई सांस्कृतिक रूपमा उर्वर राखेको छ । काठमाडौं उपत्यकाको समृद्ध सांस्कृतिक सम्पदा बुझ्न चाहने आगन्तुकहरूका लागि पाहाँ चह्रे अवलोकन गर्नु एक उत्कृष्ट अवसर हो । स्थानीय समुदायसँग मिलेर भोजमा सहभागी हुनु र यो पर्वको हिस्सा बन्नु नेवारी संस्कृतिलाई नजिकबाट बुझ्ने सुनौलो मौका हो । पाहाँ चह्रेले नेवार समुदायको आफ्नो सांस्कृतिक सम्पदा प्रतिको समर्पण, सामुदायिक एकता र जटिल रीतिरिवाज तथा खानपानका माध्यमबाट जीवनलाई उत्सवको रूपमा मनाउने कलालाई दर्शाउँछ ।











प्रतिक्रिया