काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणको सम्झौता


                  

काठमाडौँ।

काठमाडौँ महानगरपालिकाले महिलामा देखिने स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ । सोमबार महानगरको स्वास्थ्य विभाग र वीर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं लगायतको उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार आगामी चैत १६ गतेदेखि वीर अस्पतालबाट परीक्षण सेवा सुरु गरिनेछ । दैनिक १०० देखि १२० जना महिलाको परीक्षण गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ ।

महानगरले प्रारम्भिक चरणमै क्यान्सरको अवस्था पहिचान गरी उपचार सहज बनाउन यो सहकार्य गरिएको जनाएको छ । नेपालमा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा देखिएकाले समयमै परीक्षण आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् ।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले सेवा सरल, सहज र पहुँचयोग्य बनाउन निर्देशन दिइन् । कार्यालयमा काम गर्ने, गृहिणी तथा विभिन्न पेशामा रहेका महिलाहरूलाई अनुकूल समय मिलाएर सेवा दिनुपर्ने उनले बताइन् । साथै, अपाङ्गता भएका महिलाका लागि विशेष व्यवस्था गर्न पनि उनले जोड दिइन् ।
उनले नियमित परीक्षणलाई क्यान्सरबाट बच्ने प्रभावकारी उपायको रूपमा उल्लेख गर्दै यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताइन् ।

वीर अस्पतालका निर्देशक प्राडा दिलीप शर्माले गत वर्षको अनुभवका आधारमा यस वर्ष सेवा थप प्रभावकारी बनाइने बताए । उनले लक्षण नदेखिए पनि परीक्षण गराउनुपर्नेमा जोड दिँदै ढिलो हुँदा उपचार जटिल हुने अवस्था आउने बताए । त्यस्तै स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष परीक्षणबाट छुटेका तथा पोजेटिभ देखिएका महिलाहरूलाई प्राथमिकतामा राखिएको छ ।

कार्यक्रमका लागि महिलाले नजिकको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा गएर नाम दर्ता गर्नुपर्नेछ । त्यहाँबाट प्राप्त रेफरल स्लिपका आधारमा तोकिएको मिति र समयमा अस्पतालमा परीक्षण गरिनेछ । परीक्षणका क्रममा स्तनको क्लिनिकल जाँच गरिनेछ भने शंका लागेमा अल्ट्रासाउन्ड र मेमोग्राफी गरिनेछ । पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपीभी डीएनए परीक्षण गरिनेछ र पोजेटिभ देखिएमा थप परीक्षण तथा उपचार प्रक्रिया अघि बढाइनेछ ।
महानगरले यस कार्यक्रममार्फत महिलामा क्यान्सरको जोखिम घटाउने र समयमै उपचार सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ ।