बर्खेआलु रोप्न व्यस्त किसान

846
Shares

रसुवा । हिमाली जिल्ला रसुवाका किसानहरू आजभोलि बर्खेआलु रोप्न व्यस्त रहेका छन् । बर्खेआलु उत्पादनका लागि उपयुक्त हावापानी, उचाइ र माटोका कारण रसुवा आलु उत्पादनका लागि उत्कृष्ट क्षेत्रको रूपमा चिनिदै आएको छ । उचाइमा रहेका भेगमध्ये सरमथलीको माथिल्लो क्षेत्र यार्सा, लाङ्बु, सिङबन्दी, आरूखर्क, गाङमर, बेताताङ, सरसिउ, राम्चे, डाँडागाउँ, करुम¥याङ, तिरू, हाकु, ब्राबल, भार्खु, नागुङ, धुन्चे, सोले, धिमली, बोकेझुण्डा, ठाडेलगायतका क्षेत्रमा अहिले आलु रोप्ने काम शुरू भइसकेको छ ।

माघको अन्तिम हप्तादेखि चैतको आधाआधीसम्म रोपिसकिने आलु साउनमा बारीमा छिप्पिन नपाउँदै बैना मार्न आइपुग्छन् । लामो समयसम्म माटोमा रहिरहँदा यहाँको आलु मीठो र पोषणयुक्त हुने बताइन्छ । यार्सा क्षेत्रमा उत्पादन हुने स्थानीय यार्साली आलु स्वादका हिसाबले अत्यन्तै लोकप्रिय मानिन्छ तर उत्पादन कम हुने र रोगप्रतिरोध क्षमता कमजोर हुने कारण किसान अहिले उन्नत जाततर्फ आकर्षित भइरहेका छन् ।

कृषिविज्ञले रसुवाका किसानलाई केही आधुनिक उपाय अपनाउन सुझाव दिएका छन् । जसअनुसार बीउ रोप्नुआगाडि जैविक फफुंदनाशक वा ट्राइकोडर्मा प्रयोग गर्दा रोग लाग्न सक्छ । यसको सट्टा गोठमल, कम्पोस्ट र भर्मी कम्पोस्ट प्रयोगले माटोको सूक्ष्मजीव सक्रिय गराउँछ ।

रसुवा आलु मात्र होइन, अन्य कृषि उत्पादनका लागि पनि परिचित छ । गोल्जुङको कालो मुसुरो दाल, गत्लाङको सिमी र बन्दाकोपी, दक्षिणी भेगको हिउँदे आलु, पिँडालु, फर्सी, दही, दूध, घिउ खुमलचार तथा भुन्टे मसिनो चामल विशिष्ट उत्पादन मानिन्छ । स्थानियले उन्नत प्राविधिक तालिम, बीउ बैंक स्थापना तथा उत्कृष्ट उत्पादन गर्ने किसानलाई पुरस्कारको व्यवस्था गर्न स्थानीय तहसँग माग गरेका छन् ।