गत फागुन २१ गते सम्पन्न निर्वाचन सार्वजनिक विमर्शमा सुन्दै आएका सयौँ तर्कहरुलाई काट्ने एउटा महत्वपूर्ण कडी बनेको छ । अहिलेको मिश्रित निर्वाचन प्रणालीको माध्यमबाट बहुमत आउन सक्दैन भन्ने दलका नेताहरु, नागरिक समाज, आम बुद्धिजीवी, सञ्चारजगतले बनाउँदै आएको भाष्यलाई यस निर्वाचनले तोडेको छ ।
हामीले बुझ्ने, सोच्ने तरिका र कल्पनाको दायरालाई समेत भत्काउँदै रास्वपाले निर्वाचनमा बहुमत मात्र नभई झन्डै दुई तिहाइ बहुमत ल्याएको छ । लामो समयदेखि निर्वाचनमा पाएको मत प्रतिशतलाई आधार बनाएर केही सीमित दलका नेताहरुले शासनसत्ता चलाउँदै आएका थिए । नेपालमा कर्मचारीतन्त्र, शिक्षक, पत्रकारदेखि सुदूर गाउँका उपभोक्ता समितिमा समेत पकड राख्दै आएका दुई–तीनवटा ती दलबाहेक नयाँ राजनीतिक दलले जनाधार कायम गर्न सक्दैन भन्ने तिनै दलका नेताहरुको भाष्यलाई पनि यस चुनावले गलत साबित गरिदिएको छ ।
साढे तीन वर्षअघि स्थापित रास्वपा अहिलेको सबैभन्दा ठूलो दल बनेको छ । अहिलेसम्म सार्वजनिक विमर्शमा बुझ्दै आएको र बुझाउँदै आएको मान्यतालाई निर्वाचनको माध्यमबाट जनताले अभिव्यक्ति गरेको मतले गलत साबित गरिएका छन् । यसले सार्वनजिक बहस, विमर्शको सीमिततासँगै सामाजिक, राजनीतिक क्षेत्रमा आइरहेको परिर्वतनको प्रवाहलाई बुझ्न नसकेको देखाउँछ ।
जसरी भाषाको विकासले कतिपय व्याकरणका नियमलाई पनि परिमार्जन गर्दछ, त्यसै गरी परिस्थितिमा आएको बदलावले हाम्रा तर्कहरुमा पनि परिमार्जन गरिदिन्छ । यसको आलोकमा बदलिँदो परिस्थितिको चाप सुन्न सक्ने र ठम्याउन सक्ने गरी हाम्रा मान्यता र सोचाइमा पनि परिमार्जनको आवश्यकता यसले देखाएको छ । यसै सिलसिलामा अहिलेको निर्वाचनले जनताको आकांक्षालाई स्पष्टरूपमा देखाएको छ ।
अबको चुनौती भनेको बदलिएको परिस्थितिलाई आत्मसात् गर्दै, लोकतान्त्रिक बहस र सामाजिक विकासका मार्गहरू पुनः मूल्यांंकन गर्नुपर्ने आवश्यक छ । जनताको विश्वास, आवश्यकताहरू र बदलिँदो परिस्थितिलाई सान्दर्भिक नीति र दृष्टिकोणमा परिणत गर्नु अनिवार्य छ । राजनीतिक परम्परा, पूर्वानुमान र मान्यताहरू स्थिर हुँदैनन्, तर जनताको इच्छा, सक्रियता र लोकतान्त्रिक प्रक्रिया सधैँ निर्णायक हुन्छ ।
निर्वाचनले यही सन्देश दिएको छ । यसपालिको चुनावमा नराम्ररी हारिरहेका÷हार्नुपरेका पार्टीहरुले यसको समीक्षा गर्ने भनेको छ । तर समीक्षामा दोषजति सबै अरुको टाउकोमा खन्याएर आफू पानीमाथिको ओभानो बन्ने हो भने त्यस्तो समीक्षाले पार्टीको जीवनलाई अघि बढाउन सक्दैन । अझै दम्भ, घमण्ड, उन्माद, अदूरदर्शिता, असहिष्णुता र आत्म–प्रशंसा मात्र गर्ने हो र बदलिएको परिस्थिति नदेख्ने हो भने रसातलबाट माथि उठ्न सकने देखिँदैन ।
नेपालको इतिहासले बहुमत ल्याउने दलहरूले पनि आफ्ना अवसर गुमाएका बारम्बार देखिएको छ । २०१५, २०४८ र २०५६ सालमा नेपाली कांग्रेसले बहुमत ल्याएको भए पनि आन्तरिक कलह र नेतृत्व अक्षमतालाई परास्त गर्न सकेन । २०६४ सालमा नेकपा माओवादीले बढी सिट जित्दा पनि अनुभव र आन्तरिक खटपटले काम गर्न सकेन । २०७४ सालमा एमाले र माओवादीको एकताले झन्डै दुई तिहाइ बहुमत ल्याए पनि नेतृत्वको टकरावले ऐतिहासिक अवसर गुमायो ।
अब २०८२ सालको चुनावमा रास्वपाले अप्रत्याशित बहुमत ल्याएर ऐतिहासिक रेकर्ड बनाएको छ । पुराना दलहरूले भोगेका असफलतालाई हृदयङ्गम गरी रास्वपाले आफ्नो सुवर्ण अवसरलाई देश र जनताको हितमा बुद्धिमत्तापूर्वक उपयोग गर्न सक्नुपर्छ । यसका लागि प्रतिपक्षी दलहरुसँग समझदारी कायम गर्दै अघि बढ्नुपर्छ । रास्वपाले विनित स्वभाव र जिम्मेवारीबोध गरेर देशको स्थिरता, विकास र जनताको भविष्य सुनिश्चित गर्न पनि काम गर्नुपर्छ ।
यतिखेर रास्वपा अग्निपरीक्षामा छ । यस परिस्थितिमा नवयुवा पुस्ताको माग, मर्म र भावनालाई समझदारीपूर्वक समेट्दै पाँच वर्षको कार्यकाल सफल बनाउनुलाई चुनौतीका रुपमा लिनुपर्छ । मतदाताले पनि सार्वजनिक विमर्शमा सक्रिय भएर रचनात्मक खबरदारी गरी नागरिकको भूमिका र उत्तरदायित्व निर्वाह गर्दै जानुपर्छ । लोकतन्त्रमा नागरिकको जिम्मेवारी केवल चुनावमा मतदान गर्नुमात्र होइन, चुनावपछि खबरदारी गर्नु पनि उत्तिकै जरुरी छ ।











प्रतिक्रिया