भक्तपुर फिल्म फेस्टिभल हुने


भक्तपुरका युवा फिल्मकर्मीहरुको समूहले पहिलोपटक आगामी चैत ६ र ७ गथे भक्तपुर फिल्म फेस्टिभल आयोजना गर्ने भएका छन्।

किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले भक्तपुरको कला र साहित्यको विकास गर्ने र नया“ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो।

महोत्सव संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्मकर्मीका फिल्म र उनीहरुका फिल्मलाई प्लेटफर्म दिन पनि यो महोत्सवको आवश्यकता देखेर आफूहरूले महोत्सव सुरु गर्न लागिएको हो। २ दिने महोत्सवमा २४ फिल्म देखाइनेछन्। नवीन सुब्बाद्वारा निर्देशित गाउ आएको बाटोबाट सुरु हुने महोत्सवमा सुजित बिडारीद्वारा निर्देशित ऐना झ्यालको पुतलीदेखि अंकित पौडेलको सङ अफ क्लाउड्स, किरण श्रेष्ठको एट एनोदर विन्टर, राजन कठेत र सुनीर पाण्डेको डकुमेन्ट्री ढोरपाटनलगायतका फिल्म देखाइनेछन्।

सन्देश भुर्तेलको डकुमेन्ट्री मदर रेबिकाबाट महोत्सवको समापन हुनेछ। महोत्सवमा २ नेवाः स“स्कृति समेटिएका फिल्म किजा पूजा र नेवा बुद्धिज्म इन नेपाल देखाइनेछ। भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना हुने महोत्सवमा फिल्मकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धी कार्यशाला दिनेछन्।