काठमाडौँ।
नेपालमा बालबालिकामा देखिने क्यान्सरको उपचारलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउन देशका दुई प्रमुख सरकारी अस्पतालहरू— कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच महत्वपूर्ण साझेदारी भएको छ। सोमबार कान्ति बाल अस्पतालमा आयोजित एक कार्यक्रमका बीच कान्तिका निर्देशक डा. पंकज राय र भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले उपचार सेवामा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो।
यस समझदारीसँगै अब दुवै सरकारी अस्पतालहरूले बालबालिकाको क्यान्सर उपचारसँग सम्बन्धित सेवा आदानप्रदान, उपचार व्यवस्थापनमा समन्वय तथा आवश्यक प्रविधि र विशेषज्ञता साझा गर्ने कार्यलाई सुदृढ बनाउने विश्वास गरिएको छ। समझदारीअनुसार अब बाल क्यान्सरका बिरामीको उपचार योजना (ट्रीटमेन्ट प्लान) दुवै अस्पतालका विशेषज्ञ चिकित्सकहरूले संयुक्त रूपमा तयार पार्नेछन्। कुनै एक अस्पतालमा उपलब्ध नभएको विशिष्ट सेवा अर्को अस्पतालमार्फत उपलब्ध गराइने व्यवस्था मिलाइनेछ। यसका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीबीच सेवा आदानप्रदान, तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले यस साझेदारीपछि कान्ति बाल अस्पतालमा हाल उपलब्ध नभएका क्यान्सरसम्बन्धी महत्वपूर्ण सेवाहरू भक्तपुरमार्फत सहज रूपमा प्राप्त गर्न सकिने बताउनुभयो। उहाँले भक्तपुरमा उपलब्ध नभएका कतिपय बालरोग सम्बन्धी सेवाहरू कान्तिबाट लिइने जानकारी दिनुभयो। “हामीकहाँ उपलब्ध रहेका किमो तथा रेडिएसन थेरापी, आईएमआरटी, आईएचसी, फ्लो साइटोमेट्री, फ्रोजन बायोप्सी, आवश्यक पर्ने अन्को सर्जरी तथा एचआईपीईसी जस्ता अत्याधुनिक प्रविधिले अब कान्तिका बिरामीलाई पनि सिधै लाभ पुग्नेछ,” डा. चालिसेले भन्नुभयो। यो सहकार्यले समयमै क्यान्सरको परीक्षण, सही उपचार योजना र बहु-विशेषज्ञ टोलीको सहभागितालाई सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
हाल नेपालमा बाल क्यान्सर सार्वजनिक स्वास्थ्यको एउटा ठूलो चुनौतीका रूपमा रहेको छ। विभिन्न तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष करिब ९०० देखि १,६०० बालबालिकामा क्यान्सर देखिने अनुमान गरिएको छ। तर, उपचार सेवामा पहुँचको कमी, विशेषज्ञ सेवाको सीमितता र आर्थिक समस्याका कारण करिब एक तिहाइ बालबालिकाले मात्र उपचार पाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। नेपालमा बाल क्यान्सरपछिको बाँच्ने दर ३० देखि ४० प्रतिशतको हाराहारीमा छ, जबकि विकसित देशहरूमा यो दर ८० प्रतिशतभन्दा बढी पुगिसकेको छ। बालबालिकामा खासगरी रगतको क्यान्सर (ल्युकेमिया), लिम्फोमा र मस्तिष्क सम्बन्धी क्यान्सर बढी देखिने गरेको विशेषज्ञहरू बताउँछन्।
हाल दुवै अस्पतालमा बाल क्यान्सरका लागि १५–१५ शय्या छुट्याइएको छ। भक्तपुर क्यान्सर अस्पतालले निकट भविष्यमै पेट स्क्यान र बोन म्यारो ट्रान्सप्लान्ट जस्ता उन्नत सेवाहरू पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ। सरकारको नीतिअनुसार १४ वर्ष मुनिका बालबालिकामा देखिने क्यान्सरको उपचार सेवा सरकारी अस्पतालहरूमा नि:शुल्क प्रदान गरिने व्यवस्था छ भने कतिपयले स्वास्थ्य बीमा मार्फत पनि उपचार लिइरहेका छन्। सरकारी अस्पतालहरूबीचको यो पछिल्लो समन्वयले स्रोत, प्रविधि र अनुभव साझा गरी बाल क्यान्सर उपचारको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।











प्रतिक्रिया