मुलुककै उत्कृष्ट र रोलमोडल काठमाडौँ  प्रशासनको सेवा देखेर  प्रधानमन्त्री कार्की खुसी र दंग

 नागरिकलाई झ्यालमा घण्टौँ  उभिएर सेवा लिनुपर्ने युगको अन्त्य गरेका छौ : सिडिओ पौडेल


 –काठमाडौँ प्रशासनमा जेनजी आन्दोलनको मर्म अनुसारकै सेवाप्रवाह 

–देशभरका सरकारी कार्यालयले अनुकरण गर्नुपर्नेमा जोड

काठमाडौँ। 

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मुलुककै उत्कृष्ट र रोलमोडल प्रशासन कार्यालयको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँको  निरीक्षण गरी सेवाप्रवाहको अवस्था बारे जानकारी लिएकी छन् । 

 जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी खरानी बनेको जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई अहिले देशकै उत्कृष्ट र नमुना कार्यालयको रुपमा स्थापित गराउन सफल भएका हुन् । काठमाडौँ प्रशासनले प्रमुख जिल्ला अधिकारी(सिडिओ) पौडेलकै योजना र भिजन अनुसार अत्याधुनिक डिजिटल पद्धतिमार्फत सेवाग्राही सम्बोधन प्रणाली (पब्लिक अनाउन्स्मेन्ट् सिस्टम,पास )  लागू गरेपछि सेवा प्रवाह अत्यधिक प्रभावकारी हुनुका साथै सेवाग्राहीहरु समेत पूर्ण रुपमा सन्तुष्ट हुँदै आएका छन् । 

काठमाडौँ प्रशासनले सेवाग्राहीलाई सन्तुष्ट बनाउने उद्देश्यले सेवाग्राही सम्बोधन प्रणाली(पास) लागू गरेर चर्चा बटुलेसँगै प्रधानमन्त्री कार्की कार्यालयको सेवाप्रवाहको अवस्था र कार्यालयले लागू गरेको सेवाग्राही सम्बोधन प्रणालीको निरीक्षण गर्न सोमबार जिल्ला प्रशासन कार्यालय , काठमाडौँ  पुगेकी हुन् । 

प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, गृहमन्त्रालयका अन्य अधिकारीहरु लगायतका सरकारी अधिकारीहरु पनि जिल्ला प्रशासन कार्यालय पुगेर त्यहाँ प्रदान हुँदै आएको नमुना सेवाप्रवाहको बारेमा जानकारी लिएका थिए । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल लगायतका उच्च अधिकारीहरूलाई कार्यालयले लागू गर्दै आइरहेको डिजिटल प्रविधि सहितको सेवाग्राही सम्बोधन प्रणालीका बारेमा जानकारी गराए । 

पौडेलले जेनजी आन्दोलनको मर्म अनुसार सेवा प्रवाह प्रभावकारी बनाउने  तथा युवाहरुले चाहेको सुशासनलाई स्थापित गर्ने उद्देश्यले सो प्रणाली लागू गरिएको जानकारी दिए । पौडेलले सेवाग्राहीको बढी  चाप लाग्ने देशभरका अन्य सरकारी कार्यालयमा पनि यस्तै प्रणालीको शुरुवात गर्न मन्त्रिपरिषद् बाटै आवश्यक निर्णय गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरे । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले आत्मसात गरेको सुशासन स्थापना गर्ने  र सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा काठमाडौँ प्रशासन कार्यालय र सिडिओ पौडेलले थाल्नु भएको नवीन कार्यको प्रसंसा गर्दै देशभरका सरकारी कार्यालयमा यस्तै प्रणाली लागू गर्न सरकार नीकै सकारात्मक रहेको बताइन् । 

केहो पब्लिक अनाउन्स्मेन्ट्(सेवाग्राही सम्बोधन प्रणाली, पास) प्रणाली ? 

काठमाडौँ  प्रशासनले सेवा प्रवाह प्रभावकारी बनाई सुशासन कायम गर्ने उद्देश्यले टोकन सहितको स्मार्ट डिजिटल सेवा सञ्चालन गर्दै आइरहेको छ  जसलाई पब्लिक अनाउन्समेन्ट् सिस्टम (पी.ए.एस) नाम दिइएको छ । भदौ २३ र २४ को आन्दोलनमा आन्दोलनकारीको  मुख्य तारोमा परी खरानी बनेपछि यो कार्यालयले झण्डै डेढ सातासम्म कुनै पनि सेवा प्रवाह दिन सकेको थिएन । जब प्रमुख जिल्ला अधिकारीको रुपमा ईश्वरराज पौडेल आए त्यसपछि उनले अहोरात्र खटेर कार्यालयको सेवा सुचारु गर्दै ३ महिना भित्रै मुलुकका ७७ वटा जिल्ला प्रशासन कार्यालय मध्ये सबैभन्दा उत्कृष्ट र रोलमोडल प्रशासन कार्यालयको रुपमा स्थापित गराउन सफल भएका हुन् । 

देशभरका ७७ जिल्ला प्रशासन कार्यालय मध्ये काठमाडौँ  प्रशासन टोकन सहितको स्मार्ट डिजिटल सेवा प्रवाह गर्ने पहिलो प्रशासन कार्यालय बनेको छ ।  पौडेल प्रमुख जिल्ला अधिकारी भएर आएपछि उनकै योजना र भिजन अनुसार टोकन सहितको स्मार्ट सेवा प्रणाली तथा ‘पब्लिक अनाउन्समेन्ट सिस्टम’ लागु हुँदै आएको हो । सो प्रणालीको शुभारम्भ यस अघि गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका थिए ।

प्रधानमन्त्री कार्कीले निरीक्षण गरेलगत्तै प्रमुख जिल्ला अधिकारी  पौडेलले जनतालाई केन्द्रविन्दुमा राखेर  काठमाडौँ प्रशासनले नागरिकलाई झ्यालमा घण्टौँ  उभिएर सेवा लिनुपर्ने  युगको अन्त्य गरेको बताए । उनले देशका सबै सरकारी कार्यालयले यसैप्रकारको प्रविधिमा आधारित सेवा दिन सकेमा जेनजीको आन्दोलनले माग गरे अनुसार सुशासन कायम हुन सक्ने र सेवा प्रवाह प्रभावकारी हुन सक्ने विश्वास व्यक्त गरे । 

पब्लिक अनाउन्स्मेन्ट् सिस्टम अन्तर्गत काठमाडौँ  प्रशासन कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले सबैभन्दा पहिला पहिलो चरणमा आफूले लिन चाहेको कुन  सेवा हो त्यस सम्बन्धी टोकन लिन्छ । टोकन लिएलगत्तै त्यो सेवा सञ्चालन गर्ने शाखामा त्यसको जानकारी पुग्छ अर्थात् उसको सो काम कार्यालयको सिस्टममा प्रवेश गर्छ । त्यसको केही समयमा नै सो शाखाका कर्मचारीहरुले सो काम सम्पन्न हुन के कति समय लाग्छ त्यसको जानकारी सेवाग्राहीलाई दिन्छन्  र केही समय धैर्य गरेर बस्न आग्रह गर्छन् । त्यस समयमा सेवाग्राहीलाई बस्नका लागि कार्यालयले राम्रो प्रबन्ध गरेको छ । जहाँ  वाईफाई र टेलिभिजनको समेत सुविधा रहेको छ। 

तेस्रो चरणमा  सो सिस्टममा ती सेवाग्राहीलाई त्यस अघि दिइएको समय सकिएपछि काम सम्पन्न भएको जानकारी दिइन्छ र आवश्यक सनाखत गर्न बोलाइन्छ । यी सबै काम सम्पन्न गराउन कार्यालयकै केही कर्मचारीलाई स्कर्टिङमा समेत खटाइने गरिएको छ । प्रजिअ पौडेलका अनुसार यो सिस्टम सुरु भए लगत्तै अब  सबै प्रकारका सेवाग्राहीले समयमा नै सेवा पाउने, सेवा प्रवाह गर्दा प्रविधिको उच्चतम प्रयोग हुने , कार्यालयको कुशल व्यवस्थापन हुने, भीड र लाइन लाग्नुपर्ने परम्पराको अन्त्य हुनुका साथै  सबै कर्मचारीको तत्परतामा उच्च कोटिले सुधार आउनेछ ।