हेटौंडा ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गत महाशाखा प्रमुख तथा शाखा प्रमुखहरुलाई शून्य सहनशीलताको नीति अपनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवाप्रवाह गर्न कडा निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आयोजित समीक्षा बैठकमा महाशाखा प्रमुखहरुले प्रस्तुत गरेको पछिल्लो प्रगति प्रतिवेदन बुझ्दै मन्त्री थापाले मन्त्रालयको वार्षिक योजनाअनुसार कामहरु कुनै पनि कारणले रोकिन नहुने स्पष्ट पार्नुभयो । उहाँले विकासनिर्माण, सेवाप्रवाह र नीतिगत कामहरुलाई समयमै सम्पन्न गर्न सबै कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्नुभयो ।
मन्त्री थापाले जनताले सरकारको काम प्रत्यक्षरुपमा महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्नुभयो । ‘सरकारको काम कागजमा मात्र सीमित हुनु हुँदैन । जनताले दैनिक जीवनमा परिवर्तन महसुस गर्नुपर्छ,’ उहाँले भन्नुभयो । मन्त्री थापाले सेवाप्रवाहमा ढिलासुस्ती, अनियमितता वा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै कर्मचारीहरुलाई पारदर्शिता, इमानदारी र उत्तरदायित्वसाथ काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री थापाले जनअपेक्षा र समयको मागअनुसार मन्त्रालयका कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै तहका कर्मचारीलाई सक्रिय, समन्वयात्मक र जनमुखीढंगले काम गर्न आग्रह गर्नुभयो । बैठकमा प्रस्तुत प्रगति विवरणका आधारमा आगामी दिनमा मन्त्रालयका कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउने, रोजगारी सिर्जना गर्ने र यातायात क्षेत्रको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।











प्रतिक्रिया