सुर्खेतमा सिकार खेल्न गएका ६ जना सम्पर्कविहीन, एक जनाको मृत्यु भएको आंशका

3.2k
Shares

सुर्खेत ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ६ जना युवाहरू सम्पर्कविहीन भएका छन्। गत फागुन २३ गते सुर्खेतको बराहताल गाउँपालिका–१ र लेकबेँसी नगरपालिका–८ बाट निकुञ्जतर्फ लागेका उनीहरू लामो समयसम्म सम्पर्कमा नआएपछि खोजी कार्य सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (DSP) मोहनजंग बुढथापाका अनुसार, सम्पर्कविहीन हुनेहरूमा बराहताल–१ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती र ३० वर्षीय सुनिल समसेली रहेका छन्। त्यस्तै, लेकबेँसी–८ का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि बेपत्ता भएका छन्।

घटनाको जानकारी र प्रहरी कारबाही

स्थानीय आसे महतराले सोमबार बिहान प्रहरी चौकी रानीघाटमा आफ्ना साला टोपबहादुर खत्रीसहितको टोली सम्पर्कविहीन भएको जानकारी गराएका थिए। महतराले आफ्ना साला टोपबहादुरको मृत्यु भएको हुन सक्ने आशंका समेत प्रहरीसामु व्यक्त गरेका छन्।

घटनास्थल बर्दिया जिल्लाको क्षेत्राधिकारभित्र पर्ने भएकाले सुर्खेत प्रहरीले बर्दिया प्रहरीसँग समन्वय गरी खोजी कार्य अगाडि बढाएको छ। हाल रानीघाट प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको छ। निकुञ्जको करिब १७ किलोमिटर दक्षिण क्षेत्रमा उनीहरू हराइरहेको हुनाले सोही क्षेत्रलाई केन्द्रित गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।